३७ अङ्कले घट्यो नेप्से, कारोबार रकममा झन्डै डेढ अर्ब कमी


काठमाडौं – आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से ३७. १८ अङ्कले घटेको छ । ३७. १८ अङ्कले घटेको नेप्से परिसूचक २५ सय ०८ अङ्कमा झरेको छ । दिउँसो १२ बजे परिसूचक २५ सय ८९ अङ्कसम्म पुगेको थियो ।

मध्यन्नपछि ओरालो लागेको बजार अन्तिम समयसम्म सम्हालिन सकेन । कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै डेढ अर्ब कमी आएको छ । हिजो (सोमबार) ४ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ३ अर्ब १२ करोडमा खुम्चिएको छ ।

कुल १६० कम्पनीको मूल्य घटेको छ भने २६ कम्पनीको बढेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो । यस दिन अधिकांश उपसूचक घटेका छन् ।

बैङ्किङ १३, विकास बैङ्क १४०, फाइनान्स ९०, होटल तथा पर्यटन ४९, जलविद्युत ७४, जीवन बीमा ७३, उत्पादन ९२, माइक्रोफाइनान्स ७२, निर्जीवन बीमा १६० र अन्य ५६ अङ्कले घटे । व्यापार उपसमूह भने २१ अङ्कले बढ्यो ।

आइसीएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरै ७.६ प्रतिशतले घट्यो । कारोबारका आधारमा भने प्राइम कमर्सियल बैङ्क अग्रस्थानमा रह्यो । सो कम्पनीको १२ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भयो । सिटिजन्स म्युचुअल फन्ड २ र लक्ष्मी इक्वीटी फन्डको मूल्य साढे ४ प्रतिशत हाराहारीमा बढेको छ ।

प्रतिक्रिया