राष्ट्रिय बाघ सर्वेक्षण सुरु, वातावरणमन्त्री यादवले गरे उद्घाटन


चितवन – चितवन राष्ट्रिय निकुञ्जबाट राष्ट्रिय बाघ सर्वेक्षण सुरु भएको छ । वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यावदले बाघ ट्रयापिङ गरिने क्यामेराको स्वीच थिचेर सर्वेक्षणको उद्घाटन गरेका हुन् ।

मन्त्री यादवले सन् २०१० मा रसियामा आयोजित अन्तरराष्ट्रिय बाघ सम्मेलनमा बाघको दोब्बर संख्या पुर्‍याउने भनि गरिएको प्रतिवद्धता सन् २०२२ मा पुरा हुने विश्वास व्यक्त गरे । मन्त्री यादवले ३ महिनाको स्थलगत अध्ययन र थप एक महिनाको विश्लेष्णपछि बाघको अद्यावधिक तथ्यांक प्राप्त हुने बताए ।

विगत १ सय वर्षमा बाघको करिब ९० प्रतिशत बासस्थान मासिएको उल्लेख गर्दै उनले बाघ संरक्षणलाई सरकाले विशेष प्राथमिकता दिएको बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा। रामचन्द्र कँडेलले ऐन कानुन कार्यान्वयन गर्न नसक्दा वन्यजन्तु संरक्षणमा चुनौति सृजना भएको बताए ।

नेपालका ५ वटा राष्ट्रिय निकुञ्जमा बाघ पाइने भएपनि बाघ सर्वेक्षण ८ ब्लक बनाएर गरिदैछ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा ब्लकमा पहिलो चरणमा सर्वेक्षण सुरु भएको हो ।

यस्तै दोस्रो चरणमा बाँके–बदिर्या राष्ट्रिय निकुञ्जको ४ वटा ब्लक, र शुक्लाफाटा–लालझाडी क्षेत्रमा १ ब्लक बनाएर सर्वेक्षण गरिदैछ । विभागका सूचना अधिकारी बेदकुमार ढकालले सर्वेक्षणमा क्यामेरा ट्रयाप, सन्टो कम्पास, रेञ्ज फाइन्डर, जिपिएस, रेकर्ड फर्म लगायतका सामाग्री प्रयोग हुने बताए ।

हरेक ब्लकमा २ किमि लामो तथा २ किमि चौडाईमा ग्रीड बनाएर हरेक ग्रीडमा जोडी क्यामेरामा बाघको हिडडुललाई फोटो खिचेर राखिनेछ । मंसिर २९ गतेबाट बर्दीया र बाँकेलाई समेटेर सर्भेक्षण गरिने बताए । त्यसको दुई सातापछि शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्भेक्षण हुनेछ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले करिब ३ सय ६० जोडी क्यामेरा राखेर बाघको गणना हुने बताए । उनका अनुसार १६ वटा क्याम्पहरु बनाएर प्राविधिकहरु परिचालन हुनेछन् ।

क्यामेराको वरिपरी आएपछि स्वचालित क्यामेराको सेन्सरले फोटो खिचेर राख्नेछ । पछि ती सबै फोटाहरुको विश्लेषण गरि बाघको तथ्यांक निकालिनेछ । देशभरी बाघ सर्वेक्षण पुरा गर्न ३ करोड ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया