जनताले खनेको सडक पुल नबन्दा प्रयोगविहीन
सन्तोष पुर्कुटी(रासस)
ताप्लेजुङ–पाँच वर्षअघि स्थानीयले आफ्नै लगानीमा निर्माण गरेको ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने आम्बेगुदिनदेखि मेहेले हुँदै खेवाङ जोड्ने सडक प्रयोगविहीन अवस्थामा छ । सडक निर्माणकै क्रममा केही समय सवारी साधन चलाइएको सडक उही समयदेखि नै प्रयोगविहीन बन्न पुगेको हो । हिउँदमा पानी घटेपछि खोला भित्रैबाट सवारी साधन तारेर गाउँमा गाडी पु¥याइएको थियो । हालत अहिले पनि उस्तै छ । खोला घटेपछि सवारी तार्नुपर्ने अवस्था अहिले पनि कायमै छ ।
आम्बेगुदिन र मेहेले जोड्ने काबेली खोलामा समयमा पुल नबनेकाले हालसम्म प्रयोगमा नआएको उक्त सडक अहिले घोडेटो बाटोमा परिणत भएको छ । प्राविधिक मापदण्ड पनि नपु¥याइ खनिएको सडक कतै भत्किएर साँघुरिएको छ भने कतै रुख बिरुवाले ढाकेको छ । सवारी साधन चल्दा सिदिङ्वा गाउँपालिकाले सामान्य मर्मत सम्भार गर्ने गरेको थियो । तर अहिले गाडी नै नचलेपछि सडकको स्तरोन्नती गर्ने, भत्किएको बनाउने कार्यमा कसैले चासो दिन समेत छाडेका छन् । यस्तै उक्त सडक प्राविधिक मापदण्डअनुसारको नभएकाले पनि सवारी साधन चलाउन सुरक्षित नदेखिएको स्थानीयले बताएका छन् ।
‘गाउँमा सडक आउला, सुविधा पाइएला भनेर उसबेला ५१ हजार बुझायौँ, गाउँघरका अरूले पनि सके जति पैसा दिए, तर त्यही पैसाले खनेको सडकमा अहिले सवारी साधनमा ओहोरदोहोर गर्न पाइएको छैन’–खेवाङका लक्ष्मण अधिकारीले भने । अहिले खेवाङबाट सदरमुकाम साथै झापा जाने–आउने सवारी साधन पाँचथरको थर्पु हुँदै साब्लाखुतर्फको सडकमा गुड्ने गरेका छन् । उक्त सडक खण्डको दुरी लामो भएकाले झण्डै ३ घण्टाको समय खर्चिनुपर्छ भने भाडा समेत महङ्गो लाग्ने गरेको छ ।
‘बाटो लामो पर्ने भएकाले अहिले खेवाङदेखि झापाको विर्तामोडका लागि रु २ हजार भाडा तिर्नुपर्छ, सदरमुकामकै लागि पनि केही दिन अघिसम्म रु १ हजार ३०० तिर्नु पथ्र्यो, अहिले घटाएर रु १ हजारमा झारिएको छ, सडक खन्न पैसा तिरेको बेकाम भयो, अहिले आफैँले खनेको सडक प्रयोगमा नआउँदा हामीलाई सास्ती छ’–खेवाङका अनिल तिवारीले गुनासो गर्दै भने । भाडा बढी भएकाले खेवाङ, सुरुम्खिमलगायतका कतिपयले घण्टांैसम्मको पैदल यात्रापछि आम्वेगुदिनको हप्पुखोलामा आएर गाडी चढ्ने गरेका छन् ।
साब्लाखुतर्फको बाटो प्रयोग भए पनि यता मेहेले–खेवाङ जोड्ने तावाखोलामा समेत पुल नहुँदा खोलाभित्रैबाट जोखिम मोलेर गाडी तार्ने गरिएको छ । वर्षा लागेपछि भने खोला बढ्ने भएकाले सडक पुगेका ठाउँहरू याम्फुदिन, खेवाङ र सुरुम्खिम क्षेत्रमा यातायात बन्द हुन्छ । फेरि हिउँद लाग्दा यातायात सञ्चालन हुन्छ । ग्रामीण क्षेत्र जोड्ने सकड निर्माण भए पनि साना ठूला खोलामा मोटर गुड्नसक्ने पुल नबन्दा स्थानीयले सास्ती खेप्नु परेको छ । ‘उबेला सरकारले चासो नदिदा पैसा उठाएर गाउँमा बाटो खन्यौँ, बाटो खनेको यतिका वर्ष वित्दा पनि काबेलीमा पुल जोडिएन, पुल नबन्दा अहिले घुमाउरो बाटो भएर मात्र हिँड्नुपर्छ, कतिपय ठाउँमा जोखिम मोलेर खोला भित्रैबाट वारपार गर्नुपर्छ’–स्थानीय राजकुमार भट्टराईले भने । सडक पुगेका अन्य कतिपय ग्रामीण क्षेत्रमा मोटर गुड्नसक्ने पुल नबनेकाले कतै काठे पुलबाट सवारी साधन तार्ने गरिएको छ भने कतिपय ठाउँमा जोखिम लिएरै खोला भित्रबाट ओहोरदोहोर गर्ने गरिएको छ ।
सरकारद्वारा भइरहेको सडक निर्माणको गति सुस्त भएको भन्दै स्थानीयले शुरुमा रु एक करोड सङ्कलन गरेर २०७२ सालदेखि सडक विस्तारको काम शुरु गरेका थिए । सिरिजंघा गाउँपालिकामा पर्ने आम्वेगुदिनको हप्पुखोलाबाट झण्डै आठ किलोमिटरमा पर्ने सिदिङ्वा गाउँपालिकाको मेहेलेस्थित बाँकेटारसम्म समुदायको लगानीमा सडकको ट्रयाक खोलिएको थियो । साविकका गाविसहरू खेवाङ, सुरुम्खिम र मेहेलेबाट प्रति गाविस रु ३७ लाखका दरले पैसा सङ्कलन गरेर सडक निर्माण थालिएको थियो । पछि स्थानीय सरकार आएपछि स्तरोन्नती र थप निर्माणका काम भएका थिए । पछिल्लो पटक सिरिजंघा गाउँपालिकाले याम्फुदिनसम्म सडक निर्माण गरेको छ । हिउँदमा याम्फुदिन, खेवाङ, सुरुम्खिम र मेहेलेबाट दैनिकजसो सवारी साधन ओहोरदोहोर हुन्छन् । तर वर्षा लाग्नासाथ खोलामा पानी बढेपछि यस क्षेत्रमा यातायात बन्द हुने गरेको छ ।
यता आम्बेगुनिद र मेहेले जोड्ने काबेली खोलामा मोटर गुड्ने पुल निर्माणाधीन छ । विसं २०७४ मा नै मैनाचुली निर्माण सेवाले पुल निर्माणको जिम्मा लिएको थियो । सम्झौताअनुसार गतवर्ष नै निर्माण कार्य सम्पन्न हुनुपर्नेमा विभिन्न कारणले समयमा सम्पन्न गर्न नसकिएको निर्माण सेवाका प्रतीनिधि कृष्ण वस्नेतले बताए । ‘निर्माण थालेकै वर्ष खोलामा आएको बाढीले क्षति पुग्यो, पुनः शुरु गरेर गतवर्ष झण्डै ७० प्रतिशत काम पूरा भएको थियो, फर्मा जडान गरिसकेर बाँकी काम अघि बढ्दै थियो, तर लकडाउनका कारण थप निर्माण सामग्री ढुवानी नहुँदा काम रोकियो, यतिकैमा वर्षा लागेपछि फेरि पनि बाढीले बगाउला भनेर फर्मा समेत खोलेर राख्यौँ’–बस्नेतले भने । उनका अनुसार अहिले पुनः निर्माणको कार्य भइरहेको छ । आगामी असार मसान्तमा निर्माण सम्पन्न हुनेगरी शुरु गरिएको उनले जानकरी दिए ।
यता सोही सडक खण्डमा पर्ने सिदिङ्वा गाउँपालिकाको मेहेले र सिरिजंघा गाउँपालिकाको खेवाङ जोड्ने तावाखोलामा मोटर गुड्नसक्ने पुल कहिले बन्ला भन्ने कुराको भने कुनै अत्तोपत्तो छैन । सडक पुगेको लामो समय वितिसक्दासम्म पुल निर्माणमा कसैले चासो नदेखाएको स्थानीयले बताए । उक्त खोलामा पुल निर्माण भए कञ्चनजंघा आउने पर्यकटका लागि समेत सहज हुने देखिन्छ । ‘पुल निर्माणका लागि अहिलेसम्म कतैबाट योजना तथा बजेट आउने छाँटकाँट देखिँदैन, गत वर्ष प्रदेशबाट डिपीआर भएको भन्ने जानकारी आयो, त्यसपछि थप केही आएको छैन, पालिकाको बजेटले पुग्दैन, तर निर्माणका सम्बन्धमा प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर अघि बढ्ने तयारी गरेको छु’– सिरिजंघा गाउँपालिका अध्यक्ष टीका गुरुङले भने ।
हप्पुखोला हुँदै मेहेले, खेवाङ, याम्फुदिन जोड्ने सडकलाई सिरिजंघा गाउँपालिकाले गौरवको आयोजनका रूपमा समेत लिइएको छ । याम्फुदिन तर्फबाट कञ्चनजंघा जाने पर्यटकलाई समेत उक्त सडकले सहज हुने भएकाले र स्थानीय नागरिकलाई पनि सहज हुने भएकाले यसलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।
सडक भएर पुल नहुँदा यस क्षेत्रमा मात्रै नभई जिल्लाका अन्य ग्रामीण क्षेत्रमा पनि समस्या देखिएको छ । सानादेखि ठूला खोलामा पुल नबन्दा कतिपय ग्रामीण सडकहरू हिउँदमा मात्र सञ्चालनमा आउने गरेका छन् । हिउँदमा खोलाको पानी घट्ने भएकाले खोलाभित्रैबाट सवारी साधन वारपार गराउने गरिएको छ । केही ठाउँमा काठको पुल बनाएर प्रयोग भएको छ । यसरी काठको पुल माथिबाट र खोला भित्रैबाट सवारी साधन वारपार गराउने कार्य जोखिमपूर्ण हुने सवारी चालकहरू बताउँछन् । जम्मा ६१ ओटा वडा रहेको ताप्लेजुङमा दुई वडा बाहेकका सबैमा सडक पुगेको छ । मिक्वाखोला गाउँपालिका– ५ पापुङ र सिरिजंघा गाउँपालिकाको मामांखेमा भने अझै सडक पुग्न सकेको छैन । स्थानीय सरकार आएपछि सडक नै पहिलो प्राथमिकतामा परेकाले सबै क्षेत्रमा कच्ची सडक पुगेका छन् । ती कच्ची सडकहरूमा पुल निर्माण नहुँद भने स्थानीयले सास्ती खेप्नु परेको छ ।