नयाँ दिल्लीमा वायू प्रदूषण उत्कर्षमा – विद्यालय अनिश्चितकाल बन्द, हिडडुल नगर्न आग्रह


एजेन्सी – भारतको केन्द्रीय राजधानी समेत रहेको नयाँ दिल्लीमा वायु प्रदूषण उत्कर्षमा पुगेपछि पुनः विद्यालय बन्द गरिने भएको छ।

आजैदेखि लागू हुने गरी दिल्लीका वातावरण मन्त्री गोपाल रायले विद्यालय बन्दको घोषणा गरे। अर्को सूचना जारी नभएसम्मका लागि दिल्लीका सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको मन्त्री रायले हिजो जानकारी दिए।

दिल्लीमा वायु प्रदूषणको अवस्था अत्यन्त खराब र घातक रहेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्नु परेको बताइएको छ। विद्यालय खुल्लै राख्दा दिल्लीको वायु प्रदुषण झन् झन् बढ्दै गएको भन्दै सर्वोच्च अदालतले सरकारको ध्यानाकर्षण गरेको भोलिपल्ट सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले जनाएका छन् । सरकारले कर्मचारीहरूलाई पनि घरबाटै काम गर्न आग्रह गरेको छ।

सवारी साधनमा हिडडुल गर्दा वायु प्रदुषण बढ्ने र बाहिर हिड्दा वायु प्रदुषणको असर बढी पर्ने भएकाले सवारी साधनमा हिड्नु वा पैदल हिड्नु दुवै घातक हुने विज्ञहरूको भनाइ छ।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेका दिल्लीका विद्यालयहरू अहिले फेरि वायु प्रदूषणका कारण बन्द गर्नु परेको छ। दिल्ली सरकारले गत नोभेम्बर २९ मा मात्रै दिल्लीका विद्यालयहरू पुनः सञ्चालनमा ल्याएको थियो।

प्रतिक्रिया