भूपेन्द्र शाहीले गरे कांग्रेस कर्णाली प्रदेश सभापतिमा दाबेदारी


कर्णाली — नेपाली कांग्रेसको कर्णाली प्रदेश कार्यसमिति सभापति पदमा युवा नेता भुपेन्द्रजङ्ग शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाहीले सुर्खेतमा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रदेश सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् ।

कालीकोट निवासी शाही नेपाल तरुण दलका महामन्त्रीसमेत हुन् । पत्रकार सम्मेलनमा उनले आफू पार्टीको प्रदेश सभापति पदमा विजयी भएमा प्रदेशमा पार्टीलाई पहिलो स्थानमा पु¥याउने र युवापङ्क्तिलाई आकर्षित गर्ने खालका नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल विद्यार्थी सङ्घ हुँदै तरुण दलको राजनीतिमा क्रियाशील शाही विसं २०७० को संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कालीकोटबाट उम्मेदवार बनेका थिए ।

यसैगरी सो पदका लागि संविधानसभा सदस्यद्वय ललितजङ्ग शाही (जुम्ला), राजीवक्रिम शाह (जाजरकोट) र कालीकोटका पूर्वपार्टी सभापति कालीबहादुर सहकारी चर्चामा छन् ।

कांग्रेसको प्रदेश कार्यसमितिका लागि भोलि (शुक्रबार) उम्मेदवारको मनोनयन दर्ता तथा शनिबार मतदान गर्ने निर्वाचन कार्यतालिका रहेको छ । शुक्रबार बिहान ८ देखि ११ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको समय छ ।

प्रतिक्रिया