

सर्वोच्चमा आज पनि सुनुवाइ प्रभावित

काठमाडौं – सर्वोच्च अदालतमा पुनः न्यायिक नेतृत्वको अन्योलताका कारण मुद्दाको सुनुवाइ प्रभावित भएको छ ।
गोला प्रणालीबाट पेशी तोकेपछि मुद्दाको सुनुवाइ नियमित हुने अपेक्षा गरिएको सर्वोच्चमा पुनः न्यायिक नेतृत्वको अन्योलताका कारण मुद्दाको सुनुवाइ प्रभावित भएको हो।
गत सोमबार अपरान्हदेखि सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा इजलास गठन नै प्रभावित बनेको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि सोमबार अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबराले मंगलबारको समेत इजलास आफै तोके । बुधबार भने सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी तोकियो । तर कानुन व्यवसायीले प्रधानन्यायाधीको जिम्मेवारीमा को रहेको भनी प्रश्न उठाएपछि बुधबार र बिहीबार मुद्दाको सुनुवाइ हुन नसकेको हो ।
मुद्दाको सुनुवाइका लागि पेशी सूची प्रकाशित गर्नु पहिलो काम हो । सामान्यतया १० देखि ११ बजेभित्रमा मुद्दाको पेशी तोक्ने गरिन्छ । तर बिहीबार १ बजेसम्म पनि पेशीसूची प्रकाशित भएको छैन ।

