एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सकियो


काठमाडौँ – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । मंगलबार बिहान ४ बजेदेखि जारी मतदान साढे १० बजे सकिएको हो ।

महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गरिएको थियो । सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला गरी सुरु भएको थियो ।

दुई हजार १५३ मतदाता रहेकोमा २११४ जनाले मतदान गरेको केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिए। निर्धारित समयमा मतदान नसकिएपछि केही समय थप गरिएको थियो ।

एक पटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो। एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । अध्यक्ष पदका लागि ओली र रावलले उम्मेदवारी दिएका छन् ।

यस्तै ६ उपाध्यक्षका लागि सात र सात सचिवका लागि नौ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, भीम आचार्य र टङ्क कार्कीकोे उम्मेदवारी परेको छ ।

केन्द्रीय समितिमा ८४ खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ । प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश नं १ महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

त्यस्तै समावेशी क्षेत्रको दलित खुलातर्फ आठ सदस्यका लागि नौ जना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार तथा सुदूरपश्चिम प्रदेशको महिलातर्फ तीन सदस्यका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया