
कांग्रेस कार्यकर्ताद्वारा प्रहरी र मतदान अधिकृतमाथि आक्रमण, ४ प्रहरी घाइते
काठमाडौं – कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद हुँदा सर्लाहीको बलरामा सोमबार पनि झडप भएको छ । झडपमा मतदान अधिकृतसहित ४ प्रहरी र एकपक्षका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् ।
बलरा नगरपालिका–८ गडहियामा कांग्रेस कार्यकर्ताले प्रहरी र मतदान अधिकृतमाथि नै आक्रमण गरेपछि झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
कांग्रेस इतर पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा लैजान खोजेको थियो भने संस्थापन पक्षले विद्यालयमा मतदानस्थल बनाउन खोजेको थियो । त्यसक्रममा मतदान अधिकृत झासँग विवाद हुन थालेपछि प्रहरीले उनलाई उद्धार गर्न खोज्दा झडप भएको थियो ।
मतदान अधिकृत झाको टाउकोमा चोट लागेको छ । यस्तै, प्रहरी निरीक्षक सुरेश ठाकुरसहित ४ जना प्रहरी पनि घाइते भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि आइतबार पनि बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको क्रममा दुई समूहबीच विवाद उत्पन्न भएपछि प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले एक राउण्ड हवाइ फायर गरेका थिए ।



कागजपत्र |
