ललितपुर कांग्रेस जिल्ला सभापतिमा श्रेष्ठ विजयी, चित्रकार १२ मतले पराजित


ललितपुर – नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदानमा श्रेष्ठले प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारलाई १२ मतले पराजित गर्दै ललितपुर जिल्ला कांग्रेस सभापतिमा निर्वाचित भए ।

ललितपुरको स्टाफ कलेज जावलाखेलमा भएको दोस्रो चरणको श्रेष्ठले ६६५ मत पाए भने अर्का उम्मेदवार चित्रकारले ६५३ मत पाएका थिए ।

विजयी श्रेष्ठलाई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेता उदयशम्शेर जबराको समर्थन थियो । जिल्ला सभापति चयनका लागि शनिबार ३ जनाबीच प्रतिस्पर्धा भएको थियो । तर मतगणनामा कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने श्रेष्ठ र चित्रकारबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।

शनिबार भएको मतगणनामा कम मत आएपछि सभापतिका उम्मेदवार मीनकृष्ण महर्जन बाहिरिएका थिए र उनले चित्रकारलाई समर्थन गरेका थिए ।

प्रतिक्रिया