नेपाल युएईसँग पराजित, विश्वकप खेल्ने सपनामा युएई बाधक


युएई – नेपाली महिला क्रिकेट टिमको आगामी वर्ष टि–ट्वान्टी विश्वकप ग्लोबल छनोट खेल्ने सपना समाप्त भएको छ। अन्तिम खेलमा जित्नै पर्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले युएईसँग ४८ रनको पराजय भोग्दै छनोट हुन नसकेको हो ।

प्रतियोगितामा ५ वटै खेल जित्दै युएई आगामी वर्ष आयोजना हुने टि—२० विश्वकप ग्लोबल छनोट खेल्न छनोट भएको छ।

युएईको आईसीसी क्रिकेट एकेडेमीमा सम्पन्न खेलमा युएईले दिएको १२८ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ७९ रनमा सम्पूर्ण विकेट गुमायो। १२८ रनको लक्ष्य १८.४ ओभरमा भेटाएको खण्डमा नेपालले नेट रन रेटमा युएईलाई पछि पार्दै अंकतालिकाको शीर्ष स्थानमा पुग्ने थियो।

लक्ष्य पछ्याउने क्रममा नेपालको लागि इन्दु बर्माले सर्वाधिक १५ तथा सिता राना मगर १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। सरिता मगर र काजल श्रेष्ठले समान ८ रन, कविता कुँवर र अप्सरी बेगमले समान ४ तथा कप्तान रुबिना क्षेत्रीले २ रन योगदान दिए।

एक समय ४० रनमा मात्र २ विकेट गुमाएको नेपालले आठौँ ओभरमा रुबिनाको विकेट पछि लगातार विकेट गुमाउन पुग्यो। लगत्तै ओभरमा एक किनार सम्हेलीरहेकी इन्दु आउट भईन् जसपछि नेपाल खेलमा फर्केंन।

युएईको बलिंगमा समिरा धर्नीधर्काले ४ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा मात्र ५ रन खर्चिन्। खुसि शर्मा, चमानी सेनाभिरत्नाले समान २ विकेट हात पारिन्। छाय मुगलको नाममा १ विकेट रह्यो।

प्रतियोगिताको पहिलो खेलमा नेपाल हंगकंगसंग ६ विकेटले पराजित भएको थियो जसपछि भुटान, मलेसिया र कुवेतलाई पराजित गरेको थियो।

यस अघि टस हारेर ब्याटिंग गरेको युएईले २० ओभरमा ५ विकेट क्षेतीमा १२७ रन बनाएको थियो।

युएईको लागि चमानी सेनाभिरात्नले सर्वाधिक ५२ रन योगदान दिईन् जुन क्रममा मात्र ३६ बलमा ७ चौका प्रहार गरिन्। यस्तै ओपनर थिर्था सतिशले ४६ बलमा ३ चौका मद्दतले ४७ रन बनाईन्। कभिशा इगोडागेले २२ रन योगदान दिईन्।

ओपनर इशा ओजा पहिलो ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि सतिशले कभिशा इगोडागेसंग ५८ रनको साझेदारी गरिन्। एघारौं ओभरमा इगोडागेको विकेटपछि तेश्रो विकेटको लागि सतिशले चमानी सेनाभिरात्नसंग ४९ रनको साझेदारी गरिन्। सतीश अठारौ ओभरमा सिता राना मगर बाट बोल्ड भईन्।

नेपालको बलिंगमा कविता कुँवरले २ विकेट लिएकी थिइन् भने सिता राना मगर, सबनम  र संगीता राईले एकएक विकेट लिएका थिए ।

प्रतिक्रिया