पाकिस्तानको ऋण ३० हजार खर्ब नाघ्यो, देश चलाउन पैसाको अभाव : इमरान खान


इस्लामाबाद – पाकिस्तानमा अन्तर्राष्ट्रिय ऋणमा डुब्दै गएको छ । पाकिस्तानले अहिलेसम्म ३० हजार खर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको र यसले देशलाई थिचेको प्रधानमन्त्री इमरान खानले बताए ।

देशमा ऋण बढिरहेको र नागरिकले कर तिर्न चासो नदिँदा अवस्था झनै खराब भइरहेको उनले  बताएका छन् । उनले देश चलाउन पैसाको अभाव हुँदै गएको चिन्ता जनाएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

पाकिस्तानमा जम्मा ३० लाख जनाले मात्रै कर तिर्ने गरेको र त्यसमा पनि १० लाख जनाले निकै कम मात्रामा आम्दानी देखाएर कर छल्ने गरेको पाइएको छ । पाकिस्तानमा डेढ करोड नागरिक कर तिर्न योग्य भए पनि सरकारले करको दायरामा ल्याउन नसकेको खबरमा उल्लेख छ ।

यो अवस्था आउनुमा अघिल्लो सरकारका प्रधानमन्त्री नवाज सरिफ मुख्य जिम्मेवार रहेको प्रधानमन्त्री खानको आरोप छ। पछिल्लो १० वर्षमा मात्रै पाकिस्तानको ऋण ६ हजार खर्बबाट बढेर ३० हजार खर्ब पुगेको छ ।

पाकिस्तान विश्वमै सबैभन्दा धेरै विदेशी ऋण लिने देशको शीर्ष १० भित्र रहेको छ । सम्झौताअनुसार ऋण तिर्न नसक्दा पाकिस्तानलाई कैयौँ देश र वित्तीय संस्थाले थप ऋण दिन नसक्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया