पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने विधेयक पारित


काठमाडौं – पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने सजाय दिन सक्ने कानुन पारित भएको छ । बुधबार पाकिस्तानको संसदले बलात्कारसँग जोडिएको नयाँ विधेयक पारित गरेको हो ।बीबीसीका अनुसारपछिल्लो समय बलात्कारका घटनाबारे मानिसमा बढिरहेको आक्रोशलाई मध्यनजर गर्दै पाकिस्तानले नयाँ विधेयक पारित गरेको हो ।

पाकिस्तानमा गत वर्ष बलात्कारका दोषीलाई नपुंसक बनाउने विषयमा एक अध्यादेश पनि ल्याइएको थियो । करिब एक वर्षपछि यी प्रावधानलाई एक विधेयकको रुपमा पेश गरिएको हो । जसलाई बुधबार संयुक्त सत्रमा पारित गरिएको हो ।

नियम अनुसार अदालतले कानुनी प्रक्रिया पूरा गरेर सजाय सुनाएपछि एक मेडिकल बोर्डले मानिसलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउनेछ । यद्यपि पाकिस्तानको कट्टर इस्लामिक समूहले भने यो नियमको विरोध गरेको छ । जमात ए इस्लामी पार्टीले भने यो नियम इस्लामविरोधी रहेको बताएको छ ।

विश्वका केही मुलुकमा मानिसलाई नपुंसक बनाउने प्रावधान छ । सन् २०१६ मा इन्डोनेसियाले बालबालिकामाथि यौन अपराध गर्नेलाई अपुंसक बनाउने व्यवस्था गरेको थियो । सन् २००९ मा पोल्याण्डले पनि यस्तै नियम ल्याएको थियो । अमेरिकाका केही राज्यमा पनि यस्तो नियम छ ।

प्रतिक्रिया