निगमलाई विद्यार्थी सङ्गठनको चन्दा, कर्मचारीले नलिएपछि परिसरमा राखेर फिर्ता


काठमाडाैं – पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थी सङ्गठनले चन्दा उठाएको रकम नेपाल आयल निगमको कार्यालयमा बुझाएका छन् ।

विभिन्न ६ वटा विद्यार्थी सङ्गठनले केही दिनअघि विरोध स्वरूप काठमाडाैंको रत्नपार्कमा एक/एक रुपैयाँ चन्दा उठाएका थिए । उठाइएको चन्दा आज संयुक्त विद्यार्थी सङ्गठनका नेताहरूले आयल निगमका कर्मचारीलाई बुझाउन खोजे पनि कर्मचारीले लिन अस्वीकार गरेपछि कार्यालय परिसरमा राखेर फर्किएका छन् ।

आफूहरू आउने थाहा पाएपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल पहिले नै भागिसकेका र अरू कर्मचारीलाई बुझाउन खोज्दा उनीहरूले नलिएपछि चन्दाको रकम निगमको कार्यालय परिसरमा छाडिएको अखिल क्रान्तिकारीका नेता मिलन एमसीले जानकारी दिए ।

विद्यार्थीले निगम अगाडि नाराबाजी गर्न थालेपछि प्रहरीले तितरबितर पारेको थियो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता नभएसम्म आफूहरूको आन्दोलन चलिरहने नेता एमसीले बताए ।

प्रतिक्रिया