टी–२० महिला क्रिकेटः नेपालले भेटायो ३.३ ओभरमै जितको लक्ष्य


काठमाडौं – युएईमा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया छनौटको आफ्नो तेस्रो खेलमा नेपालले शानदार जित हात पारेको छ ।

युएईमा भर्खरै सम्पन्न खेलमा नेपालले कुवेतलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपाली बलरहरुले घातक बलिङ गर्दै कुवेतलाई २७ रनमा समेटेपछि २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा पूरा गरेको थियो ।

नेपालका लागि इन्दु बर्मा र रुविना क्षेत्रीले क्रमशः १३ र १२ रन बनाउँदै जित दिलाए भने सीता रानामगर शुन्यरनमा आउट भइन् ।

त्यसअघि संगीता राईको घातक बलिङसँगै नेपालले कुवेतलाई १५.४ ओभरमा २७ रन बनाउँदै अलआउट गरेको थियो । नेपालका लागि रुविना क्षेत्रीले ३ ओभरमा २ मेडन राख्दै १ रन दिएर २ विकेट लिएका थिइन् । त्यस्तै करुणा भण्डारीले ३ ओभरमा ८ रन खर्चिएर २ विकेट लिएकी थिइन् । त्यस्तै सरस्वती कुमारीले २ ओभरमा ५ रन खर्चिएर १ विकेट हात पारेकी थिइन् । कुवेतका  लागि प्रियता मुरलीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । त्यस्तै कुवेतका ६ खेलाडी शुन्यरनमा आउट भएका थिए ।

पहिलो खेलमा पराजय भोगेको नेपालले दोस्रो खेलमा मंगलबार भुटानलाई पराजित गरेको थियो ।

प्रतियोगितामा युएईले दुवै खेलमा जित हात पार्दै शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा नेपालसँगै युएई, मलेशिया, हङकङ, भुटान, कुवेतले भाग लिइरहेका छन् ।

यससँगै नेपाल ३ खेलमा २ जितसँगै तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

प्रतिक्रिया