एमाले महाधिवेशन उद्घाटन अवधिभर पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन प्रवेश रोक


काठमाडौँ – नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन समारोह अवधिभर सार्वजनिक तथा निजी गाडीहरूलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरू प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह यही मङ्सिर १० गते नारायणगढको नारायणी नदी किनारमा आयोजना हुँदै छ । यो दिन मानिसहरूको भिड व्यवस्थापन चुनौतीपूर्ण हुने भन्दै चितवन प्रशासनले सवारी साधन सञ्चालनमै रोक लगाउने निर्णय गरेको हो ।

मङ्सिर १० गते बिहान १० बजेदेखि पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गैँडाकोट क्षेत्रमा र पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा रोकिने बताइएको छ ।

यसै गरी काठमाडौँ वा पोखराबाट मुग्लिङ हुँदै यात्रा गर्ने गाडीहरूलाई आँपटारी र पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र प्रवेश गर्न नदिइने पनि बताइएको छ । पूर्वी नेपालतर्फ आऊ–जाऊ गर्नेहरूले आँपटारी–बाइपास रोड हुँदै यात्रा गर्न सक्ने छन् ।

एमालेले महाधिवेशन उद्घाटन समारोहमा १० लाख मानिस उतार्ने घोषणा गरेको छ । त्यो दिन मानिसहरूको भिड र पार्किङ व्यवस्थापनलाई अधिकारीहरूले प्रमुख चुनौती मानेका छन् ।

भिड व्यवस्थापनका लागि गृह मन्त्रालय र छिमेकी जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरिएको छ ।

प्रतिक्रिया