

१० गतेदेखि सुरु हुने १० औं महाधिवेशनमा पार्टी सचिवका लागि बस्नेतका १० दाबी

काठमाडौं – मंसिर १० गतेदेखि सुरु हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को महाधिवेशनमा केन्द्रीय सदस्य महेश बस्नेतले सचिवमा दाबेदारी प्रस्तुत गरेका छन् । पार्टीमा विगतमा आफूले निर्वाह गरेको भूमिका र देशभरीका कार्यकर्ताको मनोभावनाको सम्मान गर्दै सचिव पदमा आफ्नो दावी रहेको बताएका हुन् ।
‘महाधिवेशनमा सचिव पदमा मेरो उम्मेद्वारी रहन्छ,’ बस्नेतले भने, ‘पार्टी युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा युवाहरुलाई परिचालन गर्नका लागि मैले सचिव पदमा उम्मेद्वारी दिनु उपयुक्त ठानेको छु ।’
सचिव पदका लागि महेश बस्नेतका १० दाबी
– जनयुद्धका नाममा माओवादीले एमालेका ३ सय कार्यकर्ताको हत्या गरेको र पछि वाइसिएलका नाममा आतंक मच्चाएको बेला यूथ फोर्स बनाएर देशैभरी युवा परिचालन गरेर कार्यकर्ताको संरक्षण गरेको ।
– माधव नेपालको असक्षम नेतृत्वले एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरी युवा अभियान चलाएर एमाले कार्यकर्ताको मनोवल उकास्ने काम गरेको।
– माधव नेपाल र झलनाथ खनालको नेतृत्वले पार्टीलाई विघटनको दिशातिर लगेको बेला केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर एमालेलाई पहिलो पार्टी बनाउनु पर्छ भन्ने अभियानको नेतृत्व गरेको ।
– पार्टी भित्र र बाहिर केपी ओलीलाई संस्थागत गुट बनाएर असफल बनाउन खोज्दा रक्षा कवचको रुपमा काम गरेको । सो गरे बापत अनेक झुट आरोप व्योहोरेर अपमानित हुनु परेको ।
– संविधान निर्माणको चरणमा सुशील कोइराला प्रधानमन्त्री हुँदा १३ महिना उद्योग मन्त्तालय सम्हालेर जीर्ण उद्योग क्षेत्रमा नयाँ उत्साह ल्याएको ।
– एमालेको संगठन कमजोर भएको भक्तपुर जिल्लामा २०७४को संघीय निर्वाचनमा काँग्रेसलाई ३६ हजार मत ल्याएर दोब्बर मतले पराजित गरेको । पटक पटक मन्त्री बनाउने तत्कालिन प्रधानमन्त्री के पी शर्मा ओलीको इच्छा कतिपय साथीहरुले पुरा गर्न नदिए पनि सदन भित्र सरकारको पक्षमा सशक्त भुमीका निर्वाह गरेको ।
– भक्तपुरलाई विकास निर्माणको नमुना जिल्लाको रुपमा प्रष्तुत गरेको
– राजनीतिको सम्भावित परिदृष्यलाई बुझेर नेकपा कालमा ‘नेकपा एमाले’ नामको दल दर्ता गरेर एमाले ब्राण्ड बचाएको ।
– पुष ५ पछाडि सत्ता र शक्ति भित्र रहेका नेताहरु मौन बसेका बेला देशैभर युवा परिचलान गरेर अध्यक्ष केपी शर्मा ओलीको कदम सही भएको माहोल सृजना गरेको ।
– पार्टी हितका लागि अध्यक्ष केपी शर्मा ओलीको निर्देशन जस्तोसुकै जोखिम मोलेर पनि पुरा गरेको

