आज ६ हजार ७४३ वडामा नेतृत्व चयन गर्दै माओवादी केन्द्र


काठमाडौँ –  नेकपा माओवादी केन्द्रले शनिवार (आज) एकै दिन ६ हजार ७४३ वडामा नेतृत्व चयन गर्दैछ ।

आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलन अन्तर्गत शनिबार वडा अधिवेशन हुन लागेको हो ।

पार्टीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ । वडा सम्मेलनपछि यही मंसिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगले बताएको छ ।

वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले कम्तीमा एउटा पदीय जिम्मेवारी पाउनेछन् भने आठ हजारभन्दा धेरै समिति गठन हुनेछन् ।

वडादेखि केन्द्रसम्म सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने योजनाअनुसार बनेको केन्द्रीय निर्वाचन आयोगले ७७ जिल्ला तथा सातवटा प्रदेशमा निर्वाचन समिति बनाएर आफ्नो काम गरिरहेको छ ।

निर्वाचन समितिमा रहने सदस्यलाई सो आयोगले तालिम तथा प्रशिक्षण दिएर देशभर खटाएको छ ।

प्रतिक्रिया