एमालेको १०औँ महाधिवेशनमा चार खण्डको मञ्च !


चितवन – नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुआत भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ ।

एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्शाङ्कन गरिएको छ । एक सय अतिथि रहने गरी आकर्षक मञ्च निर्माण गरिने जनाइएको छ ।

उनले भने, ‘१६ फिट अग्लो मञ्च निर्माण गर्दै छौँ ।’ निर्माण गर्न लागिएको मञ्च चार खण्डमा हुने छ । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य ,दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्ड केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने उनले जानकारी दिए ।

उनका अनुसार ७२ कलाकारले एकै पटक प्रस्तुति दिन सक्ने गरी मञ्च निर्माण गरिने छ । सो मञ्च ८ फिट अग्लो ,३० फिट लामो र ४० फिट फराकिलो हुनेछ ।

उनले भने, ‘नारायणी नदीको पुलबाट र गैँडाकोट तर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्चको ढाँचा गरेका छौ ।’ उद्घाटन सत्रमा कार्यक्रम स्थल सहित विभिन्न स्थानमा गरी २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन गर्ने योजना रहेको जनाइएको छ ।

एमालेले १०औँ महाधिवेशनमा पाँच लाख जनता सहभागी गराउने पार्टीले जनाउँदै आएको छ । जनताको सहभागिता अनुसार सहजै उद्घाटन कार्यक्रम हेर्न सक्नेछन् ।

उनले भने, ‘बगरमाथि पनि भव्य मञ्च बनाउन सकिने सन्देश दिनेछौँ ।’ अहिले कार्यक्रम स्थलमा भएका खाल्डाखुल्डी पुर्ने र व्यवस्थापनको काम भइरहेको छ ।

मञ्च व्यवस्थापनका लागि ५०० स्वयंसेवक परिचालन गरिने छ । नदी किनारलाई आकर्षक बनाएर १० गते बिहान मूल आयोजक समितिलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको उनले बताए । आगामी दिनमा यो क्षेत्रमा ठुला कार्यक्रम गर्न मिल्ने गरी किनारलाई व्यवस्थित गरिने उनले जानकारी दिए ।

मञ्च व्यवस्थापनको क्रममा ठाउँ ठाउँमा सेल्फी प्वाइन्ट बनाइने छ । एमालेको महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म यहाँ हुँदै छ । नारायणी नदी किनारमा उद्घाटन र सौराहामा बन्द सत्र कार्यक्रम छ । बन्द सत्रमा करिब दुई हजार प्रतिनिधि सहभागी हुँदै छन् ।

प्रतिक्रिया