

क्यानडामा भारी वर्षा र बाढी, आपतकालको घोषणा

काठमाडौं – क्यानडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियामा ठूलो आँधी र वर्षाको कारण आपतकाल घोषणा गरिएको छ । यो क्षेत्रको सडक र रेल सेवा पनि अवरुद्ध भएको छ । यहाँ फसेका हजारौं मानिसहरुको उद्धारको लागि क्यानडाको सरकारले सेना परिचालन गरेको छ ।
आइतबार रातिदेखि सुरु भएको भारी वर्षा र आँधी अझै रोकिएको छैन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रभावित मानिसलाई आवश्यक सहयोग दिइने बताएका छन् । पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने दुई जना मानिस हराइरहेका छन् ।
अधिकारीहरुले जलवायु परिवर्तनको कारण यस किसिमको घातक मौसमी समस्या देखिने गरेको बताएका छन् । अहिले लगाइएको आपतकालमा मानिसहरुलाई बाढी आएको सडकमा निस्किन रोक लगाइएको छ ।
आवश्यक सामग्रीहरु मानिसलाई उनीहरुकै घरघरमा पुर्याइनेछ । जलवायु परिवर्तनको असरको रुपमा पछिल्लो केही वर्षमा वर्षामा अत्यधिक वर्षा हुने, गर्मीयाममा पनि अत्यधिक गर्मी हुने जस्ता समस्या देखिन थालेको छ ।

