राजनीति गर्दा लागेको ऋण तिर्न अकबरे खेती


गोरखा – दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गरेका गण्डकी गाउँपालिका–४, फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधैँ बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने गरेका उनी आजभोलि ती सबै काम छोडेर घर नजिकै सुरु गरेका अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्छन् ।

अलिअलि कमाएको पैसा पनि राजनीति गर्दागर्दै सकिएपछि ऋण डुबेका भट्टले अहिले गाउँमै करिब एक सय १७ रोपनी क्षेत्रफल जमिन भाडामा लिएर अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरेका हुन् ।

उनले सुरु गरेका अकबरे खुर्सानीको खेती प्रदेशभित्र निजीस्तरमा ठूलो क्षेत्रफलमा गरिएको अहिलेसम्मकै ठूलो अकबरे खुर्सानीको व्यावसायिक खेती हो । “व्यापार र राजनीतिले जीवनको सबै कमाई गुमाएपछि म आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि पेसा सुरु गरेको छु’, उनले भने, ‘अब राजनीतिभन्दा कृषि पेसामा नै बढी आनन्द आउन थालेको छ ।’

उनले अकबरे खेती सुरु गरेसँगै प्रदेशस्तरमा तालिम लिने अवसर पाए। तालिममा सहभागी क्रममा प्रदेशमा अहिलेसम्म त्यति ठूलो स्तरमा निजी क्षेत्रबाट अकबरे खुर्सानीको व्यावसायिक खेती अन्यत्र नभएको जानकारीसमेत पाएपछि आफूमा झनै उत्साह बढेको उनको भनाइ छ । किसान भट्टले व्यावसायिक रुपमा खेती सुरु गर्नका लागि आफ्नोसँगै सहित छिमेकीको जमिन भाडामा लिएका छन् । राजनीतिमा समेत लागेर लामो समयसम्म काम गरेका उनले राजनीतिले खान नदिने भएकाले अहिले कृषि कर्ममा जोडिएको बताए ।

‘गोरखा र काठमाडौंमा समेत व्यापार थियो तर राजनीतिले सबै सकियो’, उनले भने, ‘केही उपाय नभएपछि अहिले फेरि गाउँ फर्किए र कृषि पेसा सुरु गरेँ ।’उक्त जमिनमा करिब ७५ हजार बेर्ना लगाएकामा करिब ४६ हजार बोटमा उत्पादन सुरु भएको उनले बताए । ‘सारेका मध्ये २९ हजार बेर्ना सरेन’, उनले भने, ‘सरेका बोटहरुबाट अहिले राम्रो उत्पादन हुन थालेको छ ।” भाडामा लिएको जमिन मध्ये खुर्सानी नसरेको ठाउँमा अदुवा र बेसार खेती गरेको उनको भनाइ छ ।

एकपटक हुर्किएको खुर्सानीको बोटबाट ३ वर्षसम्म राम्रो आम्दानी लिन सक्ने किसान भट्टले जानकारी दिए । अकबरे खुर्सानी फल्न थालेपछि बारी लटरम्म फल्न थालेको उनले बताए । ‘बारीमा पस्दा राता हरिया खुर्सानी लटरम्म फलेको देख्दा मन पनि आनन्द हुन्छ’, किसान भट्टले भने, ‘खुर्सानी बेचेर आम्दानीसमेत राम्रो हुन थालेको छ ।’

उनले आफ्नो बारीमा उत्पादन भएको खुर्सानी चितवनको मुग्लिनमा रहेको थ्री सिस्टर अचार कम्पनीले खरिद गर्न थालेको छ । प्रतिकेजी रु २५० देखि २७५ सम्ममा खुर्सानी बिक्री हुन्छ, उनले भने, बजार भाउ पनि राम्रो भएकाले आम्दानी पनि राम्रो हुँदै गएको छ ।’ व्यावसायिक खेती सुरु गरेसँगै अकबरे खुर्सानी बेचेर वार्षिक रु ५० लाखसम्म आम्दानी गर्ने आफ्नो लक्ष्य रहेको किसान भट्टले बताए ।

यस वर्ष भने जेठको अन्त्यदेखि अत्यधिक पानी परेकाले खुर्सानी उत्पादन राम्रो नभएको उनको भनाइ छ । “जेठको अन्तिम सातादेखि ठूलो वर्षा नभएको भए यो वर्ष नै राम्रो आम्दानी हुन्थ्यो”, उनले भने, “अर्को वर्ष आफूले लक्ष्य लिएको जति आम्दानी गर्न सक्छु भन्ने लागेको छ ।” उहाँले मकवानपुरको पालुङ र हेटौँडा तथा इलामबाट बीउ मगाएर आफैँले नर्सरीमार्फत बेर्ना उत्पादन गरेका हुन् । रासस

प्रतिक्रिया