युगाण्डामा दुई आत्मघाती विस्फोट, दुई प्रहरीको मृत्यु, ३० भन्दा बढी घाइते


काठमाडाैं – युगाण्डाको राजधानी कम्पालामा मंगलबार भएका दुई आत्मघाती बम विस्फोटमा कम्तीमा तीनजनाको मृत्यु भएको छ। विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन् । यी विस्फोट तीन मिनेटको अन्तरालमा भएका थिए। मृत्यु हुनेमा दुई प्रहरी पनि छन् । पाँचजना गम्भीर घाइते भएको बताइएको छ । विस्फोटका कारण मानिसका शरीरका टुक्रा छरपस्ट भएका थिए ।

मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। अमाक समाचार एजेन्सीका अनुसार इस्लामिक स्टेट (आईएस) समूहले आक्रमणको जिम्मेवारी लिएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन आक्रमणकारीले संसद् र महानगरीय प्रहरी प्रधान कार्यालय नजिकै आत्मघाती हमला गरेका थिए । अधिकारीहरूले सहरका अन्य भागमा थप बम फेला परेको बताएका छन् ।

प्रहरी प्रवक्ता फ्रेड अनंगाले आत्मघाती आक्रमणकारीबाट अझै खतरा कायम रहेको बताएका छन् । प्रहरीले १ जना आक्रमणकारीलाई पक्राउ गरेको छ । उनका साथबाट विस्फोटक ज्याकेट बरामद गरिएको प्रहरीले जनाएको छ । यी आक्रमणपछि संसद् कार्यालयका सम्पूर्ण कार्य बन्द गरिएको छ । विस्फोटका कारण संसद् नजिकै पार्किङ गरेका सवारीसाधनमा आगजनी भएको छ ।

विस्फोटबाट प्रहरी मुख्यालय नजिकैको झ्यालका सिसा फुटेका छन्।संसद् आक्रमणका प्रत्यक्षदर्शी बैंक गार्ड पिटर ओलुपोटले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘विस्फोटको आवाज यति शक्तिशाली थियो कि जमिन हल्लियो र म लगभग बहिरो भएँ ।’

प्रतिक्रिया