एमाले महाधिवेशन: ४१ जिल्लामा प्रतिनिधि चयन, बाँकी भोलि सक्ने


काठमाडौं – १० औं महाधिवेशनको तयारीलाई तीब्र गतिमा अघि बढाएको नेकपा एमालेले ४१ जिल्लामा प्रतिनिधि छनोटको काम सकाएको छ । आइतबार तीन बजेसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको विवरण प्राप्त भएको हो ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापामा अनुसार केही जिल्लामा क्षेत्रगत निर्वाचन भएपनि बाँकी जिल्लामा सहमतिका आधारमा प्रतिनिधिहरू छनोट भएका हुन् । ‘उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको छ । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधिहरू चयन भएका छन्’, थापाले भने, ‘ प्रतिनिधि छनोट हुन बाँकी रहेका जिल्लाहरुमा सोमबारसम्म सकिने जानकारी प्राप्त भएको छ ।’

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले भुगोलबाहेक जनसंगठन, विभाग र विशेष कमिटी तर्फका सवै प्रतिनिधि सहमतिमा चयन भइसकेका छन् । मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनका लागि एमालेले १ हजार ९ सय ९९ प्रतिनिधि चयन गर्ने जनाएको छ । एमालेले कात्तिक ३० गते महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ ।

 

प्रतिक्रिया