


एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आज सुरु हुँदैछ। बैठक शनिबार बैठक बिहान ११ बजे ललितपुरको सानेपास्थित एक होटलमा बस्ने पार्टीले जनाएको छ।
बैठकमा शुक्रबार स्थायी कमिटीको बैठकमा प्रस्तुत भएको महासचिव डा। बेदुराम भुषालको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ। स्थायी कमिटी बैठकमा महासचिव भुषालले समाजवादी पार्टी प्रवेश गर्न चाहने विभिन्न दल र शक्तिहरूसँग गरिएको वार्ता र संवादबारे प्रतिवेदन पेश गरेका थिए। त्यस विषयमा केन्द्रीय कमिटीले आधिकारिक धारणा निर्माण गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकमा ३३५ जना केन्द्रीय सदस्यको सपथ ग्रहण पनि हुने खतिवडाले बताए। शनिबार र आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनुका साथै केही विभागहरू पनि गठन गर्ने तयारी छ। बैठकमा केन्द्रीय सदस्यहरुले संगठन विस्तार अभियानको रिपोर्टिङ पनि गर्ने खतिवडाले जानकारी दिए।

