चौकीदारको यातनापछि विराटनगर कारागारका कैदीको मृत्यु


काठमाडौं – मोरङको विराटनगर कारागारमा कैद भुक्तान गरिरहेका एक व्यक्तिको मृत्यु भएको छ। चौकीदारको यातनापछि जबरजस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो ।

१० वर्ष कैद सजाय भएका थापा ६ वर्षयता मोरङ कारागारमा थिए। चौकीदार कात्तिक कामतले दिएको यातनापछि थापाको शंकास्पद मृत्यु भएको कारागार स्रोत बताउँछ।

कामतले मोरङ कारागारमा चौकीदारको जिम्मेवारी पाएको दुई दिन मात्र भएको छ। उनी आएपछि मोरङको रतुवामाई नगरपालिका घर भएका थापको बिहीबार बिहानपख उनको मृत्यु भएको हो।

मृतक थापा गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ ल्याउन हुँदैन भन्ने कैदीहरूको समूहमा थिए। नेपाली कांग्रेस नेताको जोडबलमा १६ कात्तिकमा गिरीलाई मोरङ ल्याउँदा चौकीदार किरण गुरुङसहितको समूहले गिरीलाई भित्र पश्न दिएको थिएन।

त्यसपछि प्रशासनले गिरीलाई सप्तरी पठाएको थियो। सप्तरी कारागारमा रहेका गिरीकै योजनामा मंगलबार मोरङ कारागारभित्र झडप समेत भयो। झडपमा ६ जना घाइते भए।

झडपपछि कारागार प्रशासनले गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङ र १३ जना नाइकेलाई झापा, सुनसरी र इलाम स्थानान्तरण गरी गिरीका सहयोगी रहेका कामतलाई चौकीदारको जिम्मेवारी दिएको हो।

मंगलबारको झडपपछि गिरीको विपक्षमा रहेका १४ जनाको सरुवा भएपनि थापाको सुरुवा भएन्। कारागार स्रोतका अनुसार चौकीदारको जिम्मेवारी पाएलगतै कामतले अभिषेक गिरीको विपक्षमा रहेका थापालाई यातना दिन थालेका थिए।

जिल्ला कारागार मोरङका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार ६ वर्षयता कारागारमा रहेका थापाको अचानक मृत्यु भएको हो। श्वास फेर्न समस्या भएपछि कोसी अस्पताल लगिएका थापालाई पुग्ने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया