

एमाले महाधिवेशनमा हुने खर्च पार्टी सदस्यबाट उठाइने
चीन-भारतसहित ६२ देशका राजनीतिक दललाई अतिथिको निम्तो

काठमाडाैं – नेकपा एमालेको आउँदो मंसिर १० देखि १२ सम्म हुने दशौं राष्ट्रिय महाधिवेशनमा खर्च हुने रकम पार्टी सदस्यहरुबाटै उठाउने भएको छ ।
बुधबार बसेको एमालेको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा एक सयका दरले संकलन गर्ने निर्णय गरेको हो ।
उक्त रकम पार्टी सदस्यहरुले अनलाइनमार्फत पार्टीको खातामा जम्मा गर्नुपर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । आजका मितिसम्म देशभर एमाले संगठित सदस्य ७ लाख २० हजार सदस्यबाट एक सयका दरले उठाउँदा ७ करोड २० लाख रकम जम्मा हुने उनको भनाइ छ ।
महाधिवेशनमा विदेशी ६२ मुलुकका राजनीतिक पार्टीलाई अतिथिका रुपमा बोलाउने एमालेले जनाएको छ । उनीहरुलाई निमन्त्रणा पठाइसकेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।
चितवनको नारायणी किनारमा अध्यक्ष केपी ओलीले मंसिर १० गते १२ बजे उद्घाटन गर्ने एमाले महाधिवेशनको उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट व्यापक जनपरिचालन गर्ने एमालेले जनाएको छ । महाधिवेशन उद्घाटन सत्रमा कम्तिमा ५ लाखको जनसहभागिता जुटाउने एमालेले जनाएको छ ।
बुधबारको बैठकमा विभिन्न उपसमितिहरूले पेश गरेका प्रतिवेदन र कार्ययोजनामाथि छलफल गर्दै परिमार्जनसहित पारित गरेको छ ।

