
पूर्वयुवराज्ञी हिमानीको आतिथ्यतामा भोली जनकपुरदेखि वीरगञ्जसम्म पुष्पवृष्टि
काठमाडौं – छठ पर्वको अवसरमा पूर्वयुवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा बुधबार जनकपुरदेखि वीरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा २०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्वहिन्दु महासंघ अन्तराष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपालसहित चार संस्थाहरु आवद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टिबारे जानकारी दिएको हो ।
समितिले विशेषगरी धनुषा (जनकपुर), पर्सा र बारामा पुष्पवृष्टि गर्ने जानकारी दियो । धनुषा (जनकपुर) मा गंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरुमा, पर्सा (वीरगञ्ज) को घडिहरवामाई पोखरी तथा आसपासका पोखरीहरुमा दिउँसो ४.३० बजे र बाराको बहुअरी पोखरी- ५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको हो ।
उक्त अवसरमा पूर्व राजदूत रामभक्त ठाकुर, २०४७ सालका संविधान पुनः स्थापना हाम्रो अभियानका नेता तथा समाजसेवी किशोरी महतो, नेपाल नागरिक अभियान उपत्यकाका संयोजक राकेश कृष्ण अमात्य, संयुक्त केन्द्रीय समितिका महासचिव डा. हरिहर प्रदिप घिमिरे, नेपाल नागरिक अभियानका संयोजक डा. ठाकुर मोहन श्रेष्ठ, नेपाल नागरिक अभियान तराईका संयोजक कैलाश साहलगायतले बोलेका थिए ।



कागजपत्र |
