


सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु,१९ जना घाइते, जिप चालक फरार

सल्यान — सल्यान र दाङको सिमानामा सोमबार बिहानै तुलसीपुर जाँदै गरेको जिप दुर्घटना भएको छ । सल्यानबाट तुलसीपुर जाँदै गरेको मे १ ज ५२२ नम्बरको जिप सल्यान र दाङको सिमाना पर्ने एक्लेबर नजिकै दुर्घटनामा परेको हो ।
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको छ । जिप दुर्घटना हुँदा कालीमाटी गाउँपालिका–३ बस्ने ३३ वर्षीय देवबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ गोविन्द थापाले बताए ।
उनका अनुसार दुर्घटनामा घाइते हुनेमा दंगिशरन गाउँपालिका–२ की २१ वर्षीया पिमा ओली, बबई गाउँपालिका २ की २३ वर्षीया पवित्रा ओली र उनका ३ वर्षीय छोरा बिज्रेश ओली, ३२ वर्षीया कमला बस्नेत र उनका १० वर्षीय छोरा प्रशान्त खत्री, शान्तीनगर गाउँपालिका ४ की ३५ वर्षीया खली ओली, तुलसीपुर उपमहानगरपालिकाकी २८ वर्षीया शोभा बुढाथोकी र उनका ७ वर्षीय छोरा लोकेन्द्र बुढाथोकी घाइते भएकन हुन् ।
यस्तै, घाइते हुने अन्यमा कालीमाटी गाउँपालिका ३ की २८ वर्षीया रीता खत्री, ३९ वर्षीय रेशम बुढाथोकी, १८ वर्षीय खेमराज बुढाथोकी, ५ वर्षीय प्रशान्त राना , १७ वर्षीया सपना ओली, राप्ती सोनारी गाउँपालिका ९ की ३५ वर्षीया पवित्रा बुढाथोकी, ३० की पिमा खत्री, बाँके कोहलपुर नगरपालिका ४ की ३२ वर्षीया दीपा ओली, १५ वर्षीया संगिता बुढाथोकी, ८ वर्षीया अपेक्षा बुढाथोकी, बर्दिया बासघारीकी २८ वर्षीया सुशिला राना छन् ।
गम्भीर घाइते भएकी पिमा खत्री, पार्वती ओली र प्रशान्त खत्री लगायत अन्य घाईते सबैको सबैको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी गराएको छ । ईप्रका तुलसीपुरका अनुसार तीव्र गतिका कारण जिप अनियन्त्रित हुँदा दुर्घटनामा परेको थियो । जीप सडकदेखि ५० मिटर तल खसेको छ । जीपमा २१ जना सवार थिए । जीप चालक डम्मर खत्री फरार छन् ।
सल्यानमा हिजो (आइतबार) मात्र सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रु बाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

