दिल्लीमा दीपावलीपछि झनै बढ्यो प्रदूषण, बालबालिका बढी प्रभावित


नयाँदिल्ली – भारतको राजधानी दिल्लीमा बढ्दै गएको प्रदूषणले बालबालिका बढी प्रभावित भएका छन् । प्रदूषणका कारण बालबालिकामा श्वासप्रश्वाससँगै मानसिक अवस्थामा दीर्घकालीन असर पर्ने भन्दै विज्ञ तथा बालबालिकाको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले चिन्ता व्यक्त गरेका छन् ।

हाल आँखा पिरो हुने र घाँटी चिलाउने असर अहिले देखिएको र त्यस्ता बिरामी आउने गरेको सर गङ्गाराम अस्पतालका डाक्टर धिरेन गुप्ताले जानकारी दिए । वायु प्रदूषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने हुँदा प्रदूषणले दूरगामी असर पार्ने उनको भनाई छ । नयाँ दिल्लीमा दीपावलीका पटाकाका कारण शुक्रबारदेखि वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ ।

यसका साथै सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीका रूपमा चिनिँदै आएको छ । हिउँदमा छिमेकी राज्यमा जलाइएका परालको धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ ।

दिल्ली मात्र नभई भारतका अरू सहर पनि अति प्रदूषित सहरमा पर्छन् । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन् । भारतमा प्रदूषित वायुका कारण बर्षेनी १० लाख मानिसले ज्यान गुमाउने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया