अभ्यास खेल: बंगलादेशमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको जित
काठमाडौं – आईसीसी वुमन्स टी–२० विश्वकपको एशिया छनोटको तयारीमा रहेको नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले जित निकालेको छ । नेपाली महिला टिमले बंगलादेशमा पहिलो जीत हात पारेको छ ।
छनोट अघिको अभ्यासका लागि नेपाली टिम यतिबेला बंगलादेशको राजधानी ढाकामा रहेको छ । शनिबार भएको बंगबन्धु बीकेएसपी कप सिरिजमा नेपालले बीकेएसपीलाई २४ रनले पराजित गरेको हो । नेपालले दिएको ७३ रनको लक्ष्य पछ्याएको बीकेएसपीले ४८ रन मात्र बनाउन सक्यो ।
विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले बंगलादेशमा एक हप्ता अभ्यास गर्नेछ । त्यहाँ रहदा नेपालले चार म्याचको सिरिज खेल्ने बताइएको छ । बंगलादेशको तयारी सकेर नेपाली टिम युएई प्रस्थान गर्नेछ । छनोट प्रतियोगिता यूएईमा नोभेम्बर १९ देखि २९ गतेसम्म हुनेछ ।