नेपाल सम्वत् हाम्रो मौलिक सम्वत् हो : ऊर्जामन्त्री भुसाल


ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल सम्वत् सम्पूर्ण नेपालीको मौलिक सम्वत् भएको बताएकी छन्।

शङ्खधर साख्वाले न्याय, समानता र भ्रातृत्वमा आधारित आन्दोलन सुरु गरेको बताउँदै मन्त्री भुसालले गणतन्त्रस्थापन भएपछिको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका रुपमा निर्णय गरेको जानकारी दिइन्।

नेपाल सम्वत् ११४२ का अवसरमा गोदावरी नगरपालिका-१४ द्वारा आज आयोजित शुभकामना आदानप्रदान तथा र्‍यालीलाई सम्बोधन गर्दै मन्त्री भुसालले भनिन्, ‘प्रचण्ड नेतृत्वको पहिलो सरकारको क्याबिनेटबाट नेपाल सम्वतलाई राष्ट्रिय सम्वत् घोषणा गरेको थियो, त्यतिखेर म सामान्य प्रशासनमन्त्री थिएँ,’ उनले भनिन्।

सङ्घीयताले देश टुक्र्याउँछ भन्ने राजनीतिक सोच राख्ने राजनीतिक दलका कारण पनि नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका रुपमा देशभर कार्यान्वयन गर्न नसकिएको स्मरण गर्दै उनले भनिन्, ‘पहिचानसहितको सङ्‍घीयता कार्यान्वयनका लागि निरन्तर सङ्‍घर्ष आवश्यक छ।’ आफू निरन्तर जनताको पक्षमा रहेको भन्दै उनले जनताको चाहनाबाहिर गएर कुनै पनि निर्णय नगर्ने स्पष्ट पारिन्।

कार्यक्रममा गोदावरी नगरमालिका प्रमुख गजेन्द्र महर्जनले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका रुपमा देशभर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिँदै त्यसका लागि आमनागरिक एकताबद्ध भएर लाग्नुपर्ने बताए।

प्रतिक्रिया