

बलात्कार अभियोगमा सिद्धबाबालाई सुनसरी अदालतले दियो सफाई

काठमाडौं– अनुयायीमाथि बलात्कार गरेको अभियोग लागेका जगतगुरु कृष्ण गिरी सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले सफाई दिएको छ।
सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबालाई सफाई दिएको हो।
यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।
नेपाल सरकारले लिएको अभियोग दाबी बमोजिम प्रतिवादीलाई जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर अदालतले गरेको श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए।
अघिल्लो बर्ष उनीविरुद्ध मुद्दा दायर गरिएको थियो। मुद्दा परेपछि अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो। सिद्धबाबाकी अनुयायी भनिएकी रामदासी नामकी महिलाले बलात्कार गरेको अभियोगमा लगाएकी थिइन्।

