

आलोपालो मुख्यमन्त्रीको प्रस्तावमा देउवा पक्षले सहयोग नगरेपछि राजीव कोइराला असन्तुष्ट

काठमाडौं– मंगलबार साँझ प्रदेश १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्,‘पिक्चर अभी बाँकी है मेरे दोस्त।’
उनको यो भनाई नेपाली कांग्रेसको प्रदेश सत्ता समीकरणमा केन्द्रको हस्तक्षेपको सांकेतिक प्रतिक्रियाका रुपमा आएको हो। उनले नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्रीको शपथ लिएका राजेन्द्र राईसँग आलोपालोको प्रस्ताव गरिसकेका थिए।
आलोपालोमा सहमति भएको खण्डमा मंगलबार कोइरालाले मुख्यमन्त्री पदको शपथ लिने तयारी गरेका थिए। तर, कांग्रेसभित्र सभापति शेरबहादुर देउवा खेमाले दबाब दिएर कोइरालाको प्रस्ताव अस्वीकार गरेको थियो।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो प्रस्ताव अस्वीकार गरेपछि कोइराला असन्तुष्ट भएका हुन्। उनी सुनसरी कांग्रेसका सभापति हुन् भने प्रदेश १ मा आन्तरिक पार्टी राजनीतिमा राम्रै असर गर्ने पात्र हुन्।
‘प्रदेश १ मा भिम आचार्यले विश्वासको मत पाउने अवस्था थियो। कांग्रेसका दुई जना र माओवादी केन्द्रका ३ जनाले फ्लोर क्रस गर्ने पक्कापक्की थियो तर उक्त जानकारी पाउनसाथ राजीव कोइरालाले त्यो अवस्थामा बाधा गरिदिए’, स्रोतले भन्यो,‘त्यसैबेलादेखि आलोपालो मुख्यमन्त्रीको प्रस्तावले सकारात्मक स्थान पाएको थियो तर कांग्रेसभित्रको संस्थापन पक्षको दबाबका कारण कोइरालालाई ब्याक गराइयो।’
कोइरालाको प्रस्तावमा देउवा पक्षले गरेको हस्तक्षेपको असर कांग्रेसको महाधिवेशनमा पर्ने बताइएको छ। खासगरी सुनसरी जिल्लामा हुन बाँकी रहेको क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनमा कोइरालाले देउवा पक्षलाई कमजोर बनाउन सक्ने बताइन्छ।

