
प्रतिनिधिसभा बैठक १८ दिनका लागि स्थगित
काठमाडौं – प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाएका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे ।
सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे । सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत गर्यो ।
बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजी भने कायमै राखेका छन् । सभामुख सापकोटाले ‘प्रतिनिधिसभाको कामकारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरेका थिए । सभामुखले सदनको कामकारबाही अवरुद्ध हुँदा जनसरोकारका विषयमा छलफल हुन नपाएको भन्दै संसदमा जारी नराबाजी रोक्न खुलाउन एमालेका सांसदहरुलाई आग्रह गरे पनि एमालेले नाराबाजी कायमै राख्यो ।
२३ साउन २०७८ बाट शुरु भएको चालु अधिवेशनमा एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने माग राखेको छ ।



कागजपत्र |
