भ्रष्ट कर्मचारीको मिलोमतोमा भन्सार छलेर गोयलले भित्राए दुई करोडमै रेन्ज रोभर


काठमाडौं– विवादीत व्यापारी श्रवण गोयलले केही भ्रष्ट भन्सारका कर्मचारीको मिलोमतोमा करोडौं रुपैंयाँ राजश्व छली गरी ल्यान्ड रोभर कम्पनीको रेन्ज रोभर गाडी भित्राएको खुलेको छ।

गोयलले पूजा ईन्टरनेशलनको नाममा उक्त गाडी नेपाल भित्राएको उनीनिकट स्रोतको दाबी छ । केही दिन अगाडि उक्त गाडी वीरगञ्ज भन्सारमा गाडीको मुल्यांकनको बिषयलाई लिएर अड्कीएको थियो । जसको बिषयमा अनलाईनन्युज सेभनले समाचार सार्वजनिक गरेको थियो ।

गोयलले करीब १ लाख डलर पर्ने ल्यान्ड रोभर कम्पनीको हाईब्रिड रेन्ज रोभरको कम मुल्यांकन गरी नेपाल भित्राएका हुन् । जुन मोडल नेपालमा आईपुग्दा लगभग अहिले ५ करोड ५० लाख भन्दा बढी पर्न जान्छ ।

गोयलले कम मुल्यांकन गरेर चोरी बाटोबाट उक्त गाडी केही भ्रष्ट कर्मचारीको मिलोमतोमा नेपाल भित्राउन सफल भएका हुन् । गाडीको बिषयमा समाचार सार्वजनिक भएपछि गोयलले उक्त गाडी अहिले ‘अण्डरग्राउण्ड’ गरेर राखेका छन् । स्रोतका अनुसार दुई करोड नाफामा उनी अहिले उक्त गाडी खरिद गर्नेको खोजीमा छन् ।

गोयलले ४९ हजार ५ सय डलर कायमगरी उक्त गाडी बेलायतबाट  पूजा ईन्टरनेसनलको नाममा मगाएका हुन् । जुन गाडीको आजको दिनको बजारमूल्य ५ करोड हुन्छ।

केही महिना अगाडि हाईब्रिड गाडीलाई ५० प्रतिशत राजश्व छुट दिँदा उक्त मोडलको गाडी नेपाल भित्रिँदा ३ करोड ५० लाख पर्न गएको थियो । राजश्व छुट हुँदा यी मोडलका दुई गाडी नेपाल भित्रिएका छन् ।

‘रियल स्टेट’ व्यापारी विकास राणा र टुरिजम सेक्टरका व्यापारी पबित्र कार्कीले उक्त मोडलको गाडी लिएका थिए । राणाले लिएको केही समय पछि उक्त गाडी यति यरलाईन्सका मालिक सोनाम शेर्पालाई ३ करोड ७० लाखमा बिक्री गरेका थिए ।

फेरि सरकारले हाईब्रिड गाडीलाई दिँदै आएको राजश्व छुटमा परिवर्तन गरी शत प्रतिशत राजश्व उठाउन र व्यक्ति स्वयम्ले विदेशबाट गाडी खरिद गरी ल्याउन पाउने भन्सार ऐन नियम परिमार्जित गरेपछि गोयल जस्ता ‘माफियाहरु’ले भ्रष्ट कर्मचारीको मिलोमतोमा चोरी बाटोबाट कम मुल्यांकन गरी भित्राउन थालेका छन् ।

गोयलले भित्राएको उक्त गाडीमा दुई करोड राजश्व राज्यलाई घाटा भएको छ । इन्टरनेटमा उक्त गाडीको मूल्य ६८ हजार पाउण्ड स्टर्लिङ उल्लेख गरिएको छ ।

४९ हजार ५ सय डलर उनले बैकिङ प्रणालीबाट गाडी बिक्रेता कम्पनीलाई रकमान्तर गरे पनि अरु रकम पठाउने उपाय भने हुण्डी रहेको बताइन्छ।

व्यापारी गोयल गत बर्ष भिआईपी जुवा अखडामा भेटिएका जुवाडे पनि हुन् । उनीविरुद्ध सम्पत्ती सुद्धिकरण अनुसन्धान बिभागले छानबिन जारी राखेको छ। अकुत सम्पत्तीका मालिक गोयलको धन्दा अहिले मिटर व्याजमा लगानी गर्ने हो जसबाट अर्बौं सम्पत्ती थुपारेको बताइएको छ।

सनराईज बैंकको नाममा गाोयलले सिफलको एक सय रोपनी जग्गा हडपेका छन् । जसको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ ।

रेन्ज रोभर गाडीको राजश्व छलीको बिषयमा राष्ट्रिय सर्तकता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनको माग गर्दै उजुरी परेको छ ।

यो पनि पढ्नुहोस्

रेन्ज रोभर चढ्न राज्यलाई २ करोड राजश्व छल्दै विवादीत व्यापारी गोयल

प्रतिक्रिया