

चीनमा फेरि कोरोना‚ सयौँ उडान स्थगित

पेकिङ – चीनमा फेरि कोरोना भाइरसको प्रकोप देखिएको छ। सरकारले सयौँ उडान स्थगित गरेको छ। यसैगरी स्कुल बन्द गरिएका छन्। सरकारले व्यापक रूपमा परीक्षण सुरु गरेको छ।
यसमा पर्यटक जिम्मेवार भएको बताइएको छ। लगातार पाँचौँ दिन चीनमा नयाँ संक्रमित बढेका छन्। उत्तरी र उत्तर पश्चिमी क्षेत्रमा संक्रमितको संख्या बढेको छ। राजधानी पेकिङसहित नौ प्रान्त र क्षेत्रमा यसको अधिक प्रभाव देखापरेको छ। स्थानीय सरकारले परीक्षण सुरु गरेका छन्।
स्यान‚ कान्सु र इनर मंगोलिया प्रान्तमा प्रभावित क्षेत्रमा स्कुल‚ मनोरञ्जन स्थल र पर्यटकीय स्थल सबै बन्द गरिएका छन्। केही क्षेत्रका घरमा लकडाउन लगाइएको छ। अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन भनिएको छ। ४० लाख जनसंख्या भएको लानचाउ नगरमा घरभित्रै बस्न आग्रह गरिएको छ।
जन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वमा २४ करोड ३३ लाखभन्दा बढी संक्रमित भएका छन्। ४९ लाख ४७ हजारभन्दा बढीको मृत्यु भएको छ।

