बागमती प्रदेशसभा बैठकको समय सारियो


हेटौंडा – बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक ३ बजे बस्ने गरी सारिएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय गरेको छ ।

यद्यपि, मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मतदान हुने सम्भावना भने निकै कम रहेको स्रोत बताउँछ । स्रोतका अनुसार एमालेले सरकारको आयु केही दिन लम्ब्याउन खोजिरहेका कारण आज बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सुरु गर्ने तर मतदानका लागि भने केही दिनपछि अर्को बैठक राख्ने तयारी भइरहेको छ ।

सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री केशवराज पाण्डेले प्रदेशसभा आह्वान भएपछि उपस्थित नहुने भन्ने कुरा नै नआउने बताए । उनले संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव सरकारले नै पेस गरेको भन्दै आजको बैठकमा सो प्रस्तावमाथि छलफल हुने बताए ।

मत विभाजनबारे भने संसद्ले नै टुङ्ग्याउने उनको भनाइ छ । नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले आजको बैठकमा एमाले सहभागी हुने बताए । उनले विश्वासको मतसम्बन्धी आवश्यक प्रक्रियाबाट एमाले नभाग्ने प्रस्ट पारे ।

प्रतिक्रिया