

प्रधानन्यायाधीश राणासँग प्रचण्डको डिनर मिटिङ, सत्ता गठबन्धनले राजनीतिक दाउपेचमा तान्यो सर्वोच्च

काठमाडौं– सत्ता गठबन्धन गठनकर्ता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग डिनर मिटिङ गरेका छन्।
मन्त्रिपरिषदमा गजेन्द्र हमालको नियुक्ति राणाको भागवन्डामा परेको विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालत विवादमा तानिएकै बेला प्रचण्डले राणालाई भेट्नु अर्थपूर्ण मानिएको छ।
हमालले राजीनामा दिइसकेका छन्। तर, प्रचण्डले चितवन पुगेर हमालको नियुक्ति कांग्रेसको कोटामा भएको बचाऊपूर्ण अभिव्यक्ति दिएका थिए।
सत्ता गठबन्धनका चार दलबीचको बैठक बालुवाटारमा सम्पन्न भएपछि बुधबार साँझ प्रचण्ड प्रधानन्यायाधीश राणाको सरकारी निवासमा डिनरका लागि पुगेका थिए।
उच्च स्रोतले भन्यो,‘विदा रहेको अदालत खुल्ने पूर्वसन्ध्यामा प्रचण्डको यो भेटलाई सर्वोच्च अदालतलाई राजनीतिमा तानी विवादमा ल्याउने अर्को अभ्यास हो।’
प्रतिनिधि सभामा नयाँ दलका रुपमा उपस्थित भएको नेकपा एकीकृत समाजवादीका १४ सांसदको मुद्दा, बालुवाटार प्रकरणमा सत्ता गठबन्धनका माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको मुद्दालगायत सर्वोच्च अदालतमा अन्तिम फैसलाका लागि बाँकी छन्।
यस्तो बेला प्रचण्डको उक्त भेटलाई न्यायालय प्रभावित बनाउने खेलका रुपमा चित्रण गरिएको छ।
उता, हमाललाई मन्त्री नियुक्ति प्रकरणमा बरिष्ठ अधिवक्तादेखि कानुनकर्मीले आलोचना गर्दै अवज्ञा आन्दोलन गर्ने घोषणा गरेका थिए। सत्ता गठबन्धननिकट कानुनकर्मीकै उक्त घोषणा भइसकेको अवस्थामा राणासँग प्रचण्डको डिनर मिटिङलाई अर्थपूर्ण मानिन्छ।
अधिवक्ताहरूले सर्वोच्च अदालत खुलेपछि प्रधानन्यायाधीश राणालाई छिर्न नदिने, अवज्ञा गर्ने तथा महाअभियोग लगाउनुपर्ने आवाज उठाइरहेका थिए। हमाल नियुक्ति प्रकरणले संवैधानिक इजलासका अन्य न्यायाधीशले पनि भाग लिएको भनी आलोचना सुरु भएको छ।

