

सल्लाहकार नहुँदा प्रधानमन्त्री देउवाको ‘टर्रो’ मधुमास, किन बनाउन सकेनन् सचिवालय?

काठमाडौं– प्रधानमन्त्री नियुक्त भएको सय दिन बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवालय बनाउन सकेका छैनन्। हालै मात्र मुख्य स्वकीय सचिवमा भानु देउवाको नियुक्ति बाहेक देउवाले औपचारिक रुपमा आफ्नो सचिवालयलाई पूर्णता दिएका छैनन्।
उनको राजनीतिक समन्वय सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरिरहेका छन् भने अन्य सल्लाहकारको जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा रहेका राज्यमन्त्री उमेश श्रेष्ठको हातमा परेको छ।
तर प्रधानमन्त्री सचिवालयको सबै प्राधिकार भने पत्नी तथा कांग्रेस नेत्री आरजु राणाको कब्जामा रहेको कांग्रेस नेताहरू बताउँछन्। ‘यी अनौपचारिक जिम्मेवारी भए, यसले प्रधानमन्त्री कार्यालय र उनका काम लथालिङ्ग अवस्थामा छन्’, उच्च स्रोतले भन्यो।
राजनीतिक, परराष्ट्र, सुरक्षा, आर्थिक, प्रशासनिक, प्रेसलगायतका सल्लाहकार नहुँदा प्रधानमन्त्रीको कार्यक्रम प्रभावित हुन्छन्। अनौपचारिक रुपमा कसैले समन्वय गरे पनि औपचारिक रुपमा नियुक्त नहुँदा कतिपय मुख्य काम प्रभावित हुन्छन्।
‘प्रधानमन्त्रीका सल्लाहकारले सबै कार्यतालिकादेखि काम र सकारात्मक प्रभावकारीताका लागि भूमिका खेल्छन्। तर प्रधानमन्त्री देउवाकै आलोचना भइरहँदा सचिवालय गठन हुन नसक्नुले अझ पनि समस्या हुन सक्छ’, स्रोतले भन्यो।
प्रधानमन्त्री नियुक्त भएको ८८ दिनमा मन्त्रिपरिषदलाई पूर्णता दिएका देउवाले सय दिन अर्थात् मधुमास कट्दा पनि सचिवालय गठन गर्न नसक्दा उनका काम प्रभावित छन्। जसले उनको आलोचना भएको थियो।
‘सचिवालयको काम भनेको उनलाई सल्लाह दिने त हो नै त्यसबाहेक प्रधानमन्त्री कार्यालयसँग जनताको अपेक्षा, अन्य राजनीतिक दलको सम्बन्ध, प्रमुख प्रतिपक्षीसँगको समन्वय गर्ने पनि हो’, उच्च स्रोतले भन्यो,‘त्यो सबै नभएका कारण नै देउवाको आलोचना स्वभाविक रुपमा भइरहेको छ।’
प्रधानमन्त्री देउवाले सचिवालय गठन गर्न नसके पनि उक्त जिम्मेवारी लिनका लागि खुट्टा उचाल्नेको संख्या ठूलो रहेको बताइएको छ। सल्लाहकार नहुँदा सबै मन्त्रालयका कामसँगको समन्वय हुन नसक्दा पनि सरकारको काम निष्प्रभावी भएको बताइएको छ।

