

प्रधानमन्त्री देउवा अन्तरवार्ताको गुह्यः एमसीसीले भत्काउँदैछ सत्ता गठबन्धन

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आँखा चिम्लिएर पास गर्नुपर्ने बताएका छन्।
सरकारी मुखपत्र गोरखापत्रलाई दिएको अन्तरवार्तामा उनले विना शर्त नै एमसीसी पास गर्नुपर्ने र त्यो मुलुकको हितमा रहेको बताएका छन्। जबकि, सत्ता गठबन्धनमा एमसीसीबारे विवाद नै छ।
सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संशोधन नगरी एमसीसी पास नहुने ठोकुवा गरिरहेका बेला प्रधानमन्त्री देउवाको उक्त अभिव्यक्तिले सत्ता गठबन्धन भत्कन सक्ने आँकलन गरिएको छ।
जबकि यो गठबन्धनलाई चुनावी मैदानसम्म लैजाने विषयमा प्रचण्डले प्रस्ताव गरेका छन्। यद्यपि, एमसीसीको एजेन्डाले यसलाई भत्काउन सक्ने आँकलन स्वभाविक हुन थालेको छ।
प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्युनतम कार्यक्रममा एमसीसी किन परेन भनी प्रश्न गरेका थिए। यसपछि एमसीसीको एउटा प्रतिनिधि मण्डल नै नेपाल आएको थियो।
‘माओवादीले सतहको राजनीतिमा आफूलाई टिकाउन एमसीसीको विरोध गर्नेछ तर कांग्रेस कुनै पनि हालतमा पास गराउने एजेन्डामा उभिएको छ’, उच्च स्रोतले भन्यो,‘प्रधानमन्त्री देउवाले पनि सोही विचारलाई फेरि सार्वजनिक गरेका छन्। यसकारण सत्ता गठबन्धन भत्किने एजेन्डा यहि बन्नेछ।’
एमसीसीप्रति प्रमुख प्रतिपक्षी दल अहिले राजनीतिक एजेन्डाका आधारमा खुलेर नबोले पनि ओली सकारात्मक रहेको र पटक–पटक सरकार प्रमुख हुँदा सदनमा लैजान खोजेका कारण सकारात्मक छन् भन्ने विषय अमेरिकाले बुझेको छ।
‘आगामी चुनावमा अमेरिकी पक्षले कांग्रेस र एमालेसँगको सहकार्य गर्न गराउन सक्छ। यस्तो संकेत नेपाली नेताले पाएका छन्। अझ अमेरिकी रणनीतिबारे चीनले बुझेका कारण उसले एमाले र माओवादीको मिलनविन्दुको सुझाव दिइरहेको छ’, उच्च स्रोतले भन्यो।
एमाले र माओवादी मिल्नका लागि चीनका लागि नेपाली राजदूत होउ यान्छीले सुझाव दिएकी थिइन्।

