

नागढुंगामा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

काठमाडौं – गएराति नागढुंगामा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ पिपलामोड नजिक ना ७ ख ३९४९ नम्बरको ट्रक दुर्घटना भएको हो।
ग्यास सिलिण्डर बोकेको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति २ बजेतिर दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
दुर्घटनामा मानवीय क्षति भने नभएको सिंहले बताए। बीच सडकमै ट्रक पल्टिएपछि दुईतर्फीको आवत–जावत नै बन्द भएको थियो। सुरुमा पैदल हिंडेर पनि वारिपारी गर्न सकिने अवस्था थिएन। अहिले ट्रकलाई हटाएपछि बाटो खुलेको सिंहले जानकारी दिए।
ट्रक दुर्घटना हुँदा बाटोभरि ग्यास सिलिण्डरहरु छरिएका थिए। रातिको बेला दुर्घटना भएकाले गाडीहरुको चाप नभएको सिंहले बताए।
ट्रकका चालक र सहचालक दुवै जना दुर्घटनालगत्तै फरार रहेको सिंहले बताए। ‘उनीहरुको खोजीकार्य भइरहेको छ। सायद उनीहरुले मापसे गरेको हुनसक्छ। त्यहि भएर डरले भागेका हुनसक्छन्,’ सिंहले भने।

