

मेलम्ची पुनर्स्थापनाको काम तत्कालै शुरु नहुने, नयाँ ठेक्का लगाउनेबारे अन्योल

काठमाडौं – गत असार १ र १६ गते आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाको काम दशैंलगत्तै अघि नबढ्ने भएको छ । आगामी वैशाखसम्म पानी ल्याउने योजनाअनुसार दशैंलगत्तै काम शुरू गर्ने भनिएपनि नयाँ ठेक्का लगाउनेबारे अहिलेसम्म निर्णय भएको छैन ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठेक्का लगाउन अनुमति माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्ययोजना प्रस्ताव पठाएको थियो । तर, यसबारे मन्त्रिपरिषदले निर्णय गर्न ढिलाइ गर्दा आयोजना पुनर्स्थापनाको काम कहिलेबाट शुरु हुन्छ भन्ने अन्योल भएको हो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासु पौडेल आफूहरु आयोजनाको मुहानसम्म पहुँचमार्ग तत्काल नबनेपनि नदी किनारबाटै आवश्यक मेसिन लगेर काम शुरु गर्नुपर्ने बताउँछन् । अस्थायी संरचना तयार गरेर काठमाडौंमा पानी ल्याउनु धेरै असहज नभएको उनको भनाइ छ ।
बाढीग्रस्त आयोजनालाई फेरि मर्मत गरेर सञ्चालनयोग्य बनाउन सरकारले नै थप लगानी गर्नुपर्ने हुन्छ । त्यसका लागि आयोजनाले दुई किसिमबाट काम अघि बढाउन सरकारसँग प्रस्ताव गरेको थियो । मन्त्रिपरिषदबाट छिटो निर्णय गरेर ठेकदारलाई कार्यस्थलमा छिटो परिचालन गर्न दशैंपछि मन्त्रालयमा थप छलफल हुने उनले बताए । आयोजनाले खोलामा स्थायी बाँध बनाएर पानी सुरुङमा हाल्ने गरी सरकारले अल्पकालीन कार्ययोजना बनाएको छ ।

