दशैंमा अध्यागमन विभागको सेवा दुई दिन बन्द
काठमाडौं – अध्यागमन विभाग दशैंमा दुई दिन मात्रै बन्द हुने भएको छ ।
विभागका अनुसार २६ असोजबाट शुरु हुने सार्वजनिक बिदाका दिनमा समेत विभागको काम सुचारु रहने छ ।
असोज २९ र ३० गते भने सेवा बन्द रहने विभागले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । अध्यागमन विभागबाट पदयात्रा अनुमति लिएर मात्र विदेशी पर्यटकले पदयात्रामा जान सक्छन् । खासगरी निषेधित क्षेत्रमा प्रवेश गर्न विभागको अनुमति चाहिन्छ । अहिले नेपालमा पर्यटकीय सिजन शुरु भएको छ ।
सरकारले खोप लगाएका पर्यटकको आवागमन सहज बनाएसँगै पर्यटकको संख्यामा समेत वृद्धि हुने अपेक्षा व्यवसायीले गरेका छन् । विदेशमा खोप नलाएका विदेशी पर्यटकले भने आफ्नो मुलुकमा रहेको नेपाली कुटनीतिक नियोगबाटै भिसा लगाएर नेपाल आउनु पर्ने शर्त राखिएको छ ।