

ईपीएल क्रिकेटः काठमाडौंविरुद्ध चितवनको जित, ललितपुर र भैरहवा भिड्दै

काठमाडौं — काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले दोस्रो जित निकालेको छ ।
सोमपाल कामीको कप्तानीमा मैदानमा उत्रिएको चितवनले त्रिभुवन विश्वविद्यालयको खेल मैदान मैदानमा बिहीबार सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं किङ्स–११ लाई ३ विकेटले हराउँदै दोस्रो जित निकालेको हो ।
काठमाडौंले दिएको १ सय ४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए । कमल सिंह ऐरी २३ रनमा अविजित रहे । यस्तै दिलिप नाथले २३ रन जोड्दा करिम जनतले २१ रन बनाए ।
मोहमद साहजदले २१, भिम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए । कप्तान सोमपाल कामी सुन्य रनमा आउट भए ।
काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २र२ विकेट लिए । जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १र१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । काठमाडौंका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए । राजु रिजालले २८ रन जोड्दा जनक प्रकाशले २६ रन जोडे ।
रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल सुन्य रनमा आउट भए ।
सिद्दान्त लोहनी ८ तथा कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे । चितवनका सागर ढकालले ४ विकेट लिए । करिम जनतले दुई विकेट लिए ।
कमल ऐरी र सेकुगे प्रसन्नले एक एक विकेट लिए । काठमाडौंलाई हराएसँगै चितवन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
चितवनले २ खेलमा ४ अंक जोडेको छ । काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराउँदै २ अंक जोडेको थियो ।
ईपीएल अन्तर्गतको दोस्रो खेल अहिले ललितपुर प्याट्रियर्स र भैरहवा ग्लाडियटर्सबीच भइरहेको छ । खेलमा भैरहवाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै ललितपुरले १२ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाएर खेलीरहेको छ ।

