

मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार (आज) मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन्। सरकार बनेको करिब ३ महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको हो।
२९ असारमा सरकारको बागडोर सम्हालेका देउवाले तीनपटक गरी पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए। विधानका २५ सदस्यीय मन्त्रीमण्डल बनाउन सक्ने भएपनि देउवाले तीन महिनासम्म पूर्णता दिन सकिरहेका थिएनन्।
आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको बालुवाटार निकट स्रोतले बतायो। बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो।
गठबन्धनले विहीबार नै मन्त्रालय बाँडफाँडको टुंगो लगाएका छन्। सोही अनुरुप आज मन्त्रिपरिषदलाई पूर्णता दिइन लागिएको हो। सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ।
यस्तै माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ४–४ मन्त्रालय पाएका छन्।

