

मन्त्रालय बाँडफाँटमा सत्ता गठबन्धनमा विवाद, एकीकृत समाजवादी सरकारमा ‘नजाने’

काठमाडौं– मन्त्रालय बाँडफाँटको विषयले सत्ता गठबन्धनमा विवाद सुरु भएको छ। प्रधानमन्त्री नियुक्त भएको ८५ औं दिनमा शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक राखी मन्त्रालय बाँडफाँट टुंगो लगाएका थिए। तर, कांग्रेस र माओवादीले हेपेर मन्त्रालय दिएको भन्दै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी नहुनेमा पुगेको छ।
एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी नहुने विषयमा निर्णय गर्न छलफलमा जुटेको छ। स्थायी कमिटी र पदाधिकारीको छलफल भएको उच्च स्रोतले जनायो। ‘मन्त्रालय बाँडफाँटमा हेपियो यसकारण सम्मानपूर्वक सहभागी नगराए हामी सरकारमा जाँदैनौं’, एकीकृत समाजवादी स्रोतले भन्यो।
एकीकृत समाजवादीको भागमा सहरी विकास, श्रम तथा रोजगार, पर्यटन र कानुन मन्त्रालय पारिएको थियो। एक राज्यमन्त्री दिनेगरी सहमति भएको बताइएको थियो। तर एकीकृत समाजवादी पार्टीभित्र उक्त सहमतिमा असन्तुष्टि देखिएको हो।
यस्तै, कांग्रेसले प्रधानमन्त्रीसहित गृह, परराष्ट्र, सञ्चार, रक्षा, उद्योग, महिला बालबालिका, युवा तथा खेलकुल र एक राज्यमन्त्री भाग लगाइएको थियो।
उता, नेकपा माओवादी केन्द्रले अर्थ, उर्जा, शिक्षा, भूमी व्यवस्था, खानेपानी र एक राज्यमन्त्री भाग लगाइएको थियो। यसैगरी जसपाका लागि भौतिक पूर्वाधार, कृषि, सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय छुट्याइएको थियो।
एकीकृत समाजवादीलाई जसपालाई भन्दा हेपेर मन्त्रालय भाग लगाइएको भनी चरम असन्तुष्टि छ।

