ताइवानमा चीनकाे लडाकू विमान, युद्धको सम्भावना बढ्दै


काठमाडाैं – ताइवानको रक्षा मन्त्रालयले सोमवार आफ्नो हवाईक्षेत्रमा चीनका ५६ वटा युद्धविमानहरू प्रवेश गरेको जानकारी दिएको छ । विगत एक वर्षयता ताइवानले सार्वजनिक रूपमा रेकर्ड राख्न थालेदेखिको यो सबभन्दा ठूलो संख्या हो । यसअघि एक दिनको रेकर्ड ३९ थियो ।

सोमवार प्रवेश गरेका ५६ चिनियाँ विमानमध्ये ३८ वटा जे-१६ लडाकू विमान, १२ वटा एच-६ बमवर्षक विमान, दुईवटा सु-३० लडाकू विमान, दुईवटा वाई-८ पनडुब्बीप्रतिरोधी युद्धविमान र दुईवटा केजे-५०० विमान छन् ।

ताइवानको हवाईक्षेत्रका रूपमा रहेको दक्षिणपश्चिम कुनामा चिनियाँ विमान प्रवेश गरेको बताइएको छ । यसको जवाफमा रेडियो चेतावनी जारी गरिएको र हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली पनि तैनाथ गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

त्यसो त चिनियाँ विमानहरूले ताइवानको सार्वभौम हवाईक्षेत्रलाई अतिक्रमण गरेका हैनन् । उक्त सार्वभौम हवाईक्षेत्र ताइवानको तटबाट १२ नटिकल माइल परबाट शुरू हुन्छ । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले यो चिनियाँ सेनाको युद्धअभ्यास भएको जानकारी दिएको छ । ताइवानलाई चेतावनी दिन चीनले यो क्रियाकलाप गरेको स्पष्ट छ । एजेन्सी

प्रतिक्रिया