साफ च्याम्पियनसिपः श्रीलंकाविरुद्ध नेपालको शानदार जीत, नेपाल शीर्षस्थानमा


काठमाडौं – साफ च्याम्पियनसीप अन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जीत हात पारेको छ । माल्दिभ्समा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले शतप्रतिशत नतिजा निकाल्दै लगातार दोस्रो जित निकालेको हो । सोमबार राति भएको खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरेका थिए भने श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए ।

नेपालका लागि सुमनले खेलको ३३ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा कुनै गोल भएन । तर, दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५१  औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । खेलको ५७ औं मिनेटमा श्रीलंकाका काभिन्दु इशानको प्रहार नेपालका डिफेन्डर सुमन अर्यालले गोललाइनबाट बचाए । तर, लगत्तै ह्यामिल्टनले ५७ औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २–१ को स्थितिमा ल्याए ।

त्यसपछि पटकपटक गोलको अवसर खेल फालेको नेपालले अन्ततः ८६ औं मिनेटमापरिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका युसले गोल गर्दै नेपाललाई ३–१ को अग्रता दिलाए । त्यसपछि ३–१ को अन्तरले विजयी हुने अनुमान गरिरहेकै बेला श्रीलंकाले खेलको इन्जुरी समयमा पेनाल्टी पाएपछि डी सिल्भाले गोल गर्दै खेल ३–२ को अवस्थामा पुग्यो । त्यसपछि कुनै गोल भएन र नेपाल समग्रमा ३–२ ले विजयी बन्यो । यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ ।

लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको थियो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

लगातार दुई हार व्यहोरेको श्रीलंकाको फाइनल यात्रा कमजोर बनेको छ । अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै सोमबार नै सम्पन्न अघिल्लो खेलमा भारत र बंगलादेश १–१ गोलले बराबरीमा रहेका थिए ।

 

प्रतिक्रिया