हेल्पले दियो सिन्धुपाल्चोकका ३५ जना विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं – हेलम्बु एजुकेसन एन्ड लाइब्लिहुड पार्टनरसिप (हेल्प) ले सिन्धुपाल्चोकका सामुदायिक विद्यालयहरुबाट एसइई उत्तीर्ण गरेका ३५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
कक्षा ११ र १२ अध्ययनका लागि जिल्लाका ३५ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिए ।
छात्रवृत्ति छनोटका लागि विद्याथीहरुबाट तीन वटा निबन्धसँगै विद्यालय र सम्बन्धित वडाको सिफारिससहित अन्तर्वार्ता लिइएको थियो । छात्रवृत्तिका लागि १५० जना विद्यार्थीले आवेदन दिएका थिए । छात्रवृत्ति प्राप्त गर्न सफल ३५ जना विद्यार्थीले जनही ५० हजार बराबर सहयोग पाउनेछन् ।
यसका अतिरिक्त यो वर्ष कोभिड महामारी र बाढी-पहिरोका कारण पीडित थप २० जना विद्यार्थीलाई जनही १५ हजारका दरले एक वर्षे (राहत सहयोग) समेत दिइएको छ ।
यसवर्ष सातकन्या माविकी संगीता तामाङलाई ५५ हजार रुपैयाँ बराबरको विशेष छात्रवृत्ति प्रदान गरिएको छ । अस्वस्थ बुवाआमा, कमजोर परिस्थिति भएपनि पढ्ने उनको धोको पूरा गर्न हेल्पले विशेष छात्रवृत्ति प्रदान गरेको हो ।
हेल्पले यो वर्ष संस्थाका संस्थापकमध्ये एक र श्री नुर्बुलिंग माणेचौर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हेलम्बु-२ सुगेन्चे निवासी छिरिङ्ग लामालाई ‘शैक्षिक सम्मान’ द्वारा विभूषित गरेको छ ।
छिरिङ्गले १० वर्षदेखि निरन्तर रुपमा श्री नुर्बुलिंग माणेचौर माध्यमिक विद्यालयको चौतर्फी शैक्षिक विकासको लागि उल्लेखनीय योगदान दिँदै आएका छन् ।
हेल्पबाट हालसम्म ५३० जना विद्यार्थीलाई पूर्ण वा आंशिक छात्रवृत्ति प्रदान गरिसकिएको छ ।