विवादास्पद व्यक्तिहरुले जिते गोरखाबाट महाधिवेशन प्रतिनिधि


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गोरखाको क्षेत्र नम्बर १ का खुल्ला तर्फको मत परिणाम सार्वजनिक भएको छ। शनिवार भएको अधिवेशनमा २७ जना उम्मेदवारमध्ये खुल्ला तर्फ १० जना निर्वाचित भएका छन्।

खुल्लातर्फ निर्वाचित भएका मध्ये जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले सर्वाधिक मत ल्याएका छन्। जिल्ला सभापतिका लागि उम्मेदवार हुन महाधिवेशन प्रतिनिधि हुनु अनिवार्य छ। न्यौपानेलाई तस्करीको रुपमा चिन्छन्। काँग्रेसका युवा नेता गगन थापाका खास मान्छे हुन्।

न्यौपाने आगामी कार्यकालका लागि सभापति हुने तयारीमा जुटेका छन्। भावी जिल्ला सभापतिका उम्मेदवार समेत रहेका न्यौपानेले ८८० ल्याएका हुन्। १०२७ मत खसेकोमा उनले सर्वाधिक मत प्राप्त गरेका हुन्।

त्यस्तै निर्वाचित हुनेमा राजेन्द्र बजगाई पनि रहेका छन्। बजगाई काठमाडौंमा रहेर विभिन्न शंकास्पद धन्दा गर्ने नेताहरुमध्ये एक हुन्। विवादास्पद छविका र पार्टीभित्रै बिचौलिया भनेर चिनिन्छन् बजगाई। उनले ७४२ मत ल्याएका छन्।

त्यस्तै धीरन थापाले ७१९ मत प्राप्त गरेका छन्। थापा पनि काठमाडौ बसेर जिल्लाको राजनीतिमा सक्रिय छन्। उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘पैसाको आडमा चुनाव जितेका हुन्।’

त्यस्तै देवेन्द्र वाग्ले ६७१ मत ल्याएर निर्वाचित भएका छन्। उनी चिरञ्जीवी वाग्लेका एक्लो छोरा हुन्। चिरञ्जीवी भने यसपालि महाधिवेशन प्रतिनिधि उठेनन्। पहिलेका अधिवेशनमा वाग्लेले धेरै मत ल्याएका थिए। वाग्ले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि कांग्रेसको केन्द्रीय राजनीतिमा ओझेल परेका थिए।

बुबको ठाउँमा छोरा देवेन्द्र वाग्ले कांग्रेसको राजनीतिमा सक्रिय भएका छन्। वाग्ले पनि विवादास्पद व्यक्ति हुन्। काठमाडौंमा रहेर विभिन्न शंकास्पद धन्दा गर्ने नेताहरुभित्र पर्छन् वाग्ले। उनले पनि पैसाको आडमा चुनाव जितेको आरोप छ।

यस्तै राजनराज पन्त ६२३ मत ल्याई निर्वाचित भएका छन्। पन्त गोरखा नगरपालिकाका मेयर समेत हुन्। मेयर हुँदा राम्रो काम गर्न नसकेको ट्याग भिरेको छ। नगरपालिकामा भ्रष्टाचार गरेको आरोप समेत लागेका व्यक्ति हुन् पन्त।

त्यस्तै, प्रेम कुमार खत्री ५८५, पुर्ण बहादुर दाहाल ५४७, किरण बाबु श्रेष्ठ ५२६, ईश्वर पाण्डे ४७२ र चेत बहादुर अधिकारी ४१३ मत ल्याएर निर्वाचित भएका छन्।

निर्वाचित हुनेमा उनीहरुले पैसाकै आडमा कांग्रेसभित्र राजनीति गरेको भन्दै कांग्रेसका पूराना जिल्ला तहका नेता महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी बनेपनि निर्वाचित हुन नसकेको चर्चा छ।

२४ जनाको लागि भएको निर्वाचनमा १४ जनाको मत गणना कार्य चलिरहेको छ। क्षेत्रीय सभापतिमा यसअघि नै नारायण लामिछाने निर्वाचित भइसेका छन्। उनी पनि स्वत महाधिवेशन प्रतिनिधि हुने कांग्रेसको चलन छ।

शनिवारबाट सुरू भएको मतगणना आइतबार साँझसम्म सकिने निर्वाचन समितिले जनाएको छ। मतगणना कार्य जारी नै रहेको छ। १८ र १९ मा जिल्ला अधिवेशन हुँदैछ।

प्रतिक्रिया