
अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष बनिन् पञ्चा सिंह
काठमाडौं – अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह भएकी छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्ष तोकिएको हो।
आइतबार बिहान खुमलटारमा अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच छलफल भएको थियो। क्रान्तिकारीको अध्यक्षमा सिंह र सुरेन्द्र बस्नेत मुख्य दावेदार रहेका थिए।
जारी २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेको घोषणा गर्ने तयारी छ। सुर्खेत घर भएकी सिंह माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी सदस्य समेत छन्।
यसअघि रन्जित तामाङ नेतृत्वको कमिटीमा उपाध्यक्ष समेत थिइन् सिंह। त्यस्तै बस्नेत पनि उपाध्यक्ष नै थिए। सिंह अखिलमा पहिलो महिला अध्यक्ष समेत हुन्।
शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो।



कागजपत्र |
